सिराज खान
नेपालगन्ज, पुस २६ गते । नेपालगन्ज उपमहानगरका अति विपन्न र एकल महिलालाई आयआर्जनमा सहयोगका लागि सिलाइ कटाइ तालिमसँगै सिलाई मेसिन सेट वितरण गरिएको छ । कतार च्यारिटी नेपालले नेपालगन्जका २३ जना दलित, मधेसी, मुस्लिम, जनजातिलगायत अति विपन्न र एकल महिलाको आयआर्जनका लागि तीन महिने सिलाइ कटाइ तालिम दिनुका साथै उनीहरूलाई सिलाइ मेसिन सेट र अन्य औजार वितरण गरेको हो ।
कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद शेषले दिनुभएको जानकारी अनुसार बाँके युनेस्को क्लब र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा २३ जना अति नै विपन्न, गरिब, एकल र सामाजिकरुपमा उत्पीडित महिलालाई तीन महिने तालिम दिएर मेसिनलगायतका उपकरण प्रदान गरिएको बताउनुभयो ।
उहाँले तालिम अवधिमा सहभागी महिलाले सिलाइ कटाइ सिप सिकेर उनीहरूले ब्लाउज, पेटीकोट, बाबा सुट, ट्राउजर, टोपी, एप्रन, सुलुवार, समिज, म्याक्सी र बेबी फ्रकजस्ता पहिरन सिलाउन सक्षम भएको बताउनुभयो । उनीहरू प्रत्येकलाई आयआर्जनका लागि व्यवसाय गर्न एक थान सिलाइ मेसिन सेटसँगै कैँची, कपडा र स्केललगायतका अन्य औजारहरू पनि प्रदान गरिएको कार्यक्रम प्रबन्धक शेषले बताउनुभयो ।
तालिममा सिलाइ कटाइ सिकाउनुका साथै रोजगारीका लागि मेसिनलगायत अन्य सामग्रीसमेत दिएकोमा आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया तालिमका सहभागीहरूले दिएका छन् । तालिम लिनुभएकी मन्तशा कुरेशीले भन्नुभयो-“यो तालिमले आफूमा आत्मनिर्भर बन्ने र समाजमा सम्मानजनक जीवन बिताउने नयाँ आशा र आत्मविश्वास जगाएको छ । अब घरमै सिलाइ गरेर बालबच्चा पाल्नेछु ।”
सो तालिमको प्रशिक्षक आमिना हलवाई हुनुहुन्थ्यो भने सहायक प्रशिक्षक सुमन चौधरी रहनु भएको थियो । कतार च्यारिटि नेपालले नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तालिम सञ्चालन र मेसिन सेट गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बाँके जिल्लामा कतार च्यारिटिले अति विपन्न, अनाथ, गरिब र अपाङ्गता भएका महिला पुरुष र बालबालिकाको शिक्षा स्वास्थ्य र आयआर्जनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।