• १४ मंसिर २०८१, शुक्रबार

चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै

blog

नदीले कटान गरेको क्षेत्र । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस २६ गते । चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

चुरे क्षेत्रका तिनाउ नदी, झुम्सा खोला तथा कन्चनखोलाबाट नदीजन्य पदार्थ निकासी रोकिँदा गेग्रान, ढुङ्गा र बालुवा थुप्रिएर नदीले धार परिवर्तन गरेको स्थानीय बासिन्दाको गुनासो छ । चुरे क्षेत्रमा लामो समयदेखि सरकारले नै नदीजन्य पदार्थ गिट्टी, ढुङ्गा, तथा बालुवा निकासीमा रोक लगाइएको हो । 

वर्षौदेखि नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदीले धार परिवर्तन गरी तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जग्गामा कटान गरेको तिनाउ–३, झुम्साका स्थानीय बासिन्दा टङ्क बस्यालले बताउनुभयो । दोभानका तल्लो भागमा नदीजन्य पदार्थ गेग्रान, ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर खेतीयोग्य जग्गा र बस्ती क्षेत्रमा नदी पसेको उहाँले गुनासो गर्नुभयो । 

यस्तै पुल तथा अन्य भौतिक संरचनालाई असर गरेको छ । तिनाउको दोभान पुल, झुम्साखोला, कचल जाने बाटा तथा झोलुङ्गे पुलमा नदीको सतह माथि आउँदा भौतिक संरचनामा क्षति पुर्‍य ाएको गाउँपालिकाले जनाएको छ । नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा पालिकाको आन्तरिक आम्दानीमासमेत असर पुर्‍य ाएको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो । आफ्नो पालिकाभित्रको स्रोत साधनलाई प्रयोग गर्न नपाउँदा जनताले चाहेअनुसारको बजेट तथा योजना दिन नसकेको उहाँले बताउनुभयो । 

तिनाउको माथिल्लो भागमा अत्यधिक उत्खननका कारण बगेर आउने माटो, ढुङ्गा, गेग्रान तथा गिट्टीका कारण तल्ला बस्ती र खेतीयोग्य जग्गामा नदी पस्ने अवस्था बनेको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । गएको वर्षातमा नदीले धार परिवर्तन गर्दा बगाहाको एउटा झोलुङ्गे पुलमा असर गरेको छ । तिनाउकै एक परिवारको घर नै बगाएको छ । एउटा पक्की पुल नजिकै गेग्रान थुपारेको छ । दोभान खोलाको चार÷पाँच स्थानमा खेतीयोग्य जग्गा कटान गरेको पालिकाले जनाएको छ ।