विराटनगर समाचारदाता
विराटनगर, पुस २६ गते । सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास) मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ । विद्युत् आपूर्ति बन्द भएका कारण कोलोनीमा बस्दै आएका बालबालिकाको पढाइ तीन सातादेखि अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटिदिएपछि उद्योग बन्द भएको छ भने दुई हजार पाँच सय जनाभन्दा बढी मजदुर तथा कर्मचारी बस्दै आएको कोलोनी अन्धकार बनेको छ । विद्युत् आपूर्ति ठप्प भएपछि साँझ बिहान बालबालिकाले पढ्ने र गृहकार्य गर्ने कामसमेत गर्न नसक्ने अवस्था छ ।
कोलोनीमा २० वर्षदेखि बस्दै आएका मजदुर अमरलाल यादवले भन्नुभयो, “बिजुली नभएर कोलोनीको अवस्था दयनीय बनेको छ, हामी सयौँ कामदार कोलोनीमा बस्छौँ तर न पानी आउँछ न बिजुली बाल्न पाइन्छ । बालबालिकाको पढाइलेखाइमा समस्या भएको छ ।”
यादवका अनुसार कोलोनीमा करिब दुई हजार मजदुर बसोबास गर्दै आएका छन् । त्यहाँबाट एक सय जनाभन्दा बढी बालबालिका नियमित विद्यालय जाने गरेका छन् । त्यस्तै स्टाफ कोलोनीबाट १५० भन्दा बढी बालबालिका नियमित विद्यालय जान्छन् तर साँझमा उनीहरूलाई गृहकार्य गर्न समस्या छ । कम्पनीले साँझमा जेनेटर चलाएर एक घण्टा मात्र बिजुली उपलब्ध गराउँछ जुन पर्याप्त छैन ।
पछिल्लो समस्या विद्युत्को समस्या समाधान हुँदै गएपछि रिलायन्स स्पिनिङ मिल्समा भएका ठुला जेनेटर चलेका छैनन्, भएका पुराना जेनेटर पनि बिग्रेका कारण चल्ने अवस्थामा नरहेको मिल्सका उपाध्यक्ष (प्रशासन) महेश पोखरेलले बताउनुभयो । सानो क्षमताको एउटा जेनेटर एक÷दुई घण्टा चलाएर खानेपानी र साँझको समयमा विद्युत्को आपूर्ति मिलाइरहेको भए पनि पूरा समय चलाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
प्राधिकरणले विद्युत् लाइन विच्छेद गरिदिएपछि कोलोनीमा बस्दै आएका कामदारले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर हजारौँ कामदार कर्मचारी बस्ने कोलोनीमा बत्ती बाल्नका लागि मात्रै भए पनि विद्युत् जडान गरिदिन माग गरेका थिए । त्यसबेला प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोलोनीमा विद्युत् जडान गर्न पहल गर्ने जवाफ दिएको भए पनि विद्युत् नजोडिएको मजदुर यादवले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले रिलायन्सको कोलोनीभित्र बस्दै आएका कामदार कर्मचारीका बालबालिकाको पढाइमा समस्या भएको बारेमा आफूलाई जानकारीमा आएपछि कोलोनीमा विद्युत् जडान गरिदिन प्राधिकरणलाई आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोलोनीका कामदारले प्राधिकरणमा निवेदन दिनेबित्तिकै लाइन जोडिन्छ ।” प्रजिअ आचार्यले कोलोनीतर्फ छुट्टै लाइन जडान गरी खानेपानी र बत्ती बाल्न बिजुली उपलब्ध गराउने विषयमा आफू संवेदनशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग र कोलोनीमा बस्दै आएका मानिसको विषयमा फरक ढङ्गले हेर्नु पर्छ, उहाँहरूबाट निवेदन आउनासाथ विद्युत् जोडिन्छ ।”
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने नियमितबाहेकको महसुल नबुझाएको भन्दै प्राधिकरणले पुस ६ गते साँझ उक्त उद्योगको लाइन काटिदिएको थियो । त्यसयतादेखि उद्योग बन्द छ । उद्योगमा चार हजारभन्दा बढी कामदार कार्यरत छन् ।