सर्लाही समाचारदाता
सर्लाही, पुस २६ गते । केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोले सर्लाहीसहित तराईका अति विपन्न परिवार नराम्ररी प्रभावित बनेका छन् । पुसको अन्तिममा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । तराईको मौसम विगत चार दिनदेखि राम्रोसँग उघ्रिन सकेको छैन । बुधबार दिनभर बाक्लो हुस्सु लागेर तुसारो झर्दा मानिसलाई घरबाहिर निस्कनै समस्या परेको छ । बुधबार बिहान ७ बजे सर्लाहीको तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोका कारण विपन्न परिवारलाई असाध्य अप्ठेरो परेको छ ।
बसबरिया गाउँपालिका–२, भवानीपुर मुसहर बस्तीकी सीतादेवी माझी मुसहरले चिसो अत्यधिक बढ्दा मुसहर समुदायको बिजोग भएको जानकारी दिनुभयो । वडा सदस्यसमेत रहेकी माझीले भन्नुभयो, “मुसहर बस्तीमा सबै बनिबुतो गरेर जीवन निर्वाह गर्ने मात्र छन् । उनीहरूसँग न्यानो कपडा र ओढ्ने ओछ्याउने छैन । बालबालिकादेखि वृद्धवृद्धा सबै कठयाङ्ग्रिएर बसिरहेका छन् ।”
सिरक डसनाको अभावमा रातमा परालमै सुत्ने गरेको उहाँले सुनाउनुभयो । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ ।
लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा ठेला चलाउने लक्ष्मण चौधरीले चिसोले हातखुट्टा कक्रिएको बताउनुहुन्छ । बढ्दो चिसोले ससाना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिm झनै प्रभावित भएको उहाँको भनाइ छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर २० वटै पालिकालाई शीतलहरबाट प्रभावित भएकालाई जोगाउन तयारी अवस्थामा रहन भनी जानकारी गराएको बताउनुभयो ।
उहाँले पालिकाहरूलाई सव्रिmयता देखाउन अनुरोध गर्नुभयो । “डिभिजन वन कार्यालयबाट प्रत्येक पालिकाले दाउरा लिएर चोक, बजारमा बाँड्ने र प्रभावितका लागि आवश्यकता अनुसार न्यानो कपडा जुटाएर बाँड्ने भन्ने निर्णय भएको छ,” प्रजिअ धमलाले भन्नुभयो तर जिल्लाका कुनै पनि पालिकाले चिसो प्रभावितलाई न्यानो प्रदान गर्नका लागि तदारुकता देखाएका छैनन् ।