• ३० वैशाख २०८२, मङ्गलबार

घाट जाने बाटो हिलाम्मे

blog

दोलखा समाचारदाता

दोलखा, पुस २६ गते । सदरमुकाम चरीकोटदेखि करिब सात किलोमिटर दुरीमा रहेको भीमेश्वर नगरपालिका–२ र ३ मा पर्ने नारानदेउघाट पुग्ने पुरानो बाटो निर्माणमा नगरपालिकाले चासो नदिँदा यहाँका बासिन्दाले नगरपालिकाप्रति दुःख व्यक्त गरेका छन् ।

दोलखा बजारदेखि तीन किलोमिटरको छोटो पुरानो सडक मर्मतका लागि नगरपालिकासँग पटक पटक बजेट माग गरी सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गरिदिन नगरपालिकाका जनप्रतिनिधिले कुनै चासो नदिएको वडा नम्बर ३ का स्थानीय सन्तोष थापाले गुनासो गर्नुभयो ।

यहाँ हिउँदमा समेत बाटो हिलाम्मे हुन्छ । उहाँले भन्नुभयो, “पटक पटक नगरका जनप्रतिनिधि पनि यही सडक भएर मलाम आउँछन् । तत्काल बाटो स्तरोन्नति गर्ने आस देखाएर फर्के पनि अझै बाटो बन्न नसक्दा समस्या यथावत् छ ।” अन्य स्थानीय तहका गाउँघरमा मान्छे हिँड्ने बाटोसमेत ढलान भइरहँदा आफ्नो नगरमा भने सडक स्तरोन्नति गरेर घाट आवतजावत गर्न सहज बनाइदिन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो स्थानीय राम श्रेष्ठले गर्नुभयो ।