• १४ मंसिर २०८१, शुक्रबार

नेपालगन्जका ईर्‍ रिक्सा चालकद्वारा प्रदर्शन

blog

रिक्सा चालक र व्यवसायीकाे प्रदर्शन । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २५ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले इलेक्ट्रिक रिक्सामाथि डोजर चलाएर नष्ट गरेको विषयलाई लिएर इलेक्ट्रिक रिक्सा चालक र व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले नेपालगन्ज उपमहानगरपालिका घेराउ गरेर प्रमुख प्रशान्त बिष्टको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका हुन् । कागजपत्र नभएका इलेक्ट्रिक रिक्सालाई ‘अवैध’ बताएर नियन्त्रणमा लिई उपमहानगर कार्यालयले डोजर चलाएको थियो ।

इलेक्ट्रिक रिक्सा व्यवसायी सङ्घ बाँकेको अगुवाइमा रिक्सा व्यवसायी र चालकहरुले गरिबको गाँस खोसेको भन्दै प्रदर्शन गरिरहेका छन् ।

ईर्‍ रिक्सा व्यवसायीले रिक्साहरु सडकमा तेर्साएर उपमहानगर कार्यालयको मूलगेटमा चर्का नाराबाजी गरिरहेका छन् । इलेक्ट्रिक रिक्सा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष कुमारसिंह ठकुरीले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रा व्यवसायीमाथि जुन खालको अन्याय र अत्याचार गरिएको छ, यसविरुद्ध हामी आन्दोलित भएका हौं, माग पूरा नहुँदासम्म आन्दोलन चल्छ ।’’

सङ्घले इलेक्ट्रिक रिक्साको हकमा पूर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्वारा नष्ट गरेका रिक्साको क्षतिपूर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्सालाई एक पटकलाई फिर्ता गर्नुपर्ने, उपमहानगरमा दर्ता भएका रिक्साहरुलाई नवीकरण गरिदिनुपर्ने र उपमहानगरले पारित गरेको ‘इलेक्ट्रिक रिक्सा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७८’ पूर्णरुपमा लागू गर्नुपर्ने माग राखेको छ ।

प्रदर्शनरत इलेक्ट्रिक रिक्सा व्यवसायीले अवैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरलाई चेतावनीसमेत दिएका छन् । उनीहरुले कहिलेकाहीँ कागज हराउने हुँदा कागज हराउँदैमा रिक्सामाथि डोजर चलाउन नमिल्ने बताए ।

रिक्सा व्यवसायीको प्रदर्शनलाई बेवास्ता गर्दै उपमहानगरको मूलगेटमा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ ।