• १७ असार २०८१, सोमबार

अपाङ्गतामैत्री भएन गाउँपालिका

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २४ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले सात करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरेको भवन अपाङ्गतामैत्री नहुँदा समस्या हुने गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको गाउँपालिकाले प्रशासकीय भवन अपाङ्गतामैत्री बनाउन ध्यान नदिएको देखिएको छ । 

सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा जोमसोममा तीनतले पक्की प्रशासकीय भवन निर्माण गरिएको छ । घरपझोङको प्रशासकीय भवनमा कुनै तालिम तथा गोष्ठी भयो भने ह्विलचेयर जान सक्दैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले भन्नुभयो, “एउटा तालिम आयोजना गरेका थियौँ । एक जना ह्विलचेयरमा आउनुभयो तर उहाँ हलसम्म जान सक्नुभएन । चार जना भएर उचालेर हलसम्म पुर्‍याउनु पर्‍यो ।”  

यस्तो भव्य संरचना बनाउँदा अपाङ्गता भएका व्यक्तिको ह्विलचेयर माथिल्लो तलासम्मै पुग्ने गरी किन निर्माण गर्न नसकेको होला, अचम्म मान्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो  । घरपझोङ गाउँपालिका भवनमा अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय प्रमुखको फरक फरक कार्यकक्षसमेत छ । सभा हल, न्यायिक समिति, गाउँपालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग अलग कार्यकक्ष, स्तनपान कक्ष निर्माण गरिएको छ । उहाँले पूरै संरचना अपाङ्गतामैत्री भने निर्माण हुन नसकेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “भुइँतलालाई अपाङ्गतामैत्री मान्न सकिएला तर पूरै संरचना त्यस्तो निर्माण भएको रहेनछ ।” 

घरपझोङले आर्थिक वर्ष २०७७/७८ देखि भवन बनाउने काम थालेको थियो । गाउँपालिकाले सात करोड ५९ लाख ८५ हजार रुपियाँ लागतमा डाँफे हरि सन्त जेभी कन्ट्रक्सनसँग भवन बनाउने सम्झौता गरेको थियो । घरपझोङको प्रशासकीय भवनमा ३२ वटा कोठा छन् । मुस्ताङ जिल्लाकै नमुना प्रशासकीय भवन रहेको दाबी गरिएको छ । पत्रकार सुनदेवी रसाइली मुस्ताङको घरपझोङ गाउँपालिका मात्रै नभएर सबै जसो सरकारी कार्यालय अपाङ्गतामैत्री नभएको बताउनुहुन्छ ।