• १७ असार २०८१, सोमबार

विद्यार्थीलाई खुत्रुके

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २४ गते  । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा राखेको खुत्रुकेमा सङ्कलित रकमले विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।

हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको देउराली क्षेत्रमा रहेका आठ वटा होटल तथा किनारा पसलमा राखिएको खुत्रुकेमा सङ्कलन भएको ४८ हजार ४३५ रुपियाँ पालिकाभित्रका विद्यालयमा आर्थिक सहयोग गर्ने भएका हुन् । 

इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले गत असारयता छ महिनाको अवधिमा सङ्कलन भएको उक्त रकम विद्यालयलाई कम्प्युटर खरिद गर्न वा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई कापी कलम खरिदमा सहयोग गर्नेबारेमा सल्लाह गरी निर्णय गरिने बताउनुभयो ।

खुत्रुकेमा होटल तथा किराना पसलमा पुग्ने यात्रुले इच्छा अनुसार राख्ने बताउँदै वडाध्यक्ष श्रेष्ठले व्यवसायीले दिनको एक कप चियाको २० रुपियाँका दरले खुत्रुके खोल्ने दिनसम्मको गणना गरी खुत्रुके खोल्ने दिनमा नगदै राख्ने गरेको बताउनुभयो ।

स्थानीयले खेलकुदका लागि पाँच हजार रुपियाँ सहयोग गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “देउराली टोलसुधार समितिको अगुवाइमा भएको खुत्रुके अभियानमा स्थानीय तरकारीसहित अन्य व्यवसायीसमेतले सहभागी हुन इच्छा देखाएका छन् ।”

यसअघि देउराली टोलसुधार समितिको अगुवाइमा सङ्कलन ४८ हजार रुपियाँ पालिकाको वडा नं. २ खानीखेतस्थित पन्चकन्या माध्यमिक विद्यालयबाट माध्यमिक विद्यालय परीक्षा (एसइई) दिने विद्यार्थीको प्रोत्साहन एवं खान बस्न सहजताका लागि प्रदान गरिएको थियो ।