• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिप सुरु

blog

काठमाडौँ, पुस २४ गते । नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा छैटौँ तुलसीलाल स्मृति क्लब राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिप सोमबार सुरु भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चालेर प्रतियोगिता उद्घाटन गर्नुभयो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान हलमा छ दिन सञ्चालन हुने प्रतियोगिताको सफलताको कामना गर्दै उद्घाटन समारोहमा घिसिङले खेलाडी आवासको परिकल्पना गरेर हालको मन्त्री निवास हरिहर भवनमा खेलकर्मी आवासगृह बनाउन मन्त्रीपरिषद्मार्फत सिफारिस गरिसकेको जानकारी गराउनुभयो । यसै गरी उहाँले चेस खेललाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्छ पनि भन्नुभयो ।

लिग कम नकआउटका आधारमा सुरु भएको प्रतियोगितामा नेपालका शीर्ष चेस क्लब गत च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, लुम्बिनी इभेन्ट मेनेजमेन्ट टिम, सुदूरपश्चिम खेलकुद विकास परिषद्, दोलखा चेस होम, दोलखा बुद्धिचाल सङ्घ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घ, कास्की जिल्ला बुद्धिचाल सङ्घ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस र ललितपुर जिल्ला बुद्धिचाल सङ्घ गरी १९ टिम सहभागी छन् ।

पहिलो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले माउन्ट एभरेस्ट चेस क्लबलाई ४–० ले हराएर विजयी सुरुवात गर्‍यो । बोर्ड नं. ५ मा ललितपुर स्पोर्ट्सका सरोज महर्जनले सन्तोष गौतम, रत्न व्यञ्जनकारले मणिरत्न डाँगी, रिशोन थापाले अग्रिम सैँजू र आयुष डेमनले लक्ष्य मोरलाई हराउनुभयो । अन्य खेलमा कोशी प्रदेशले कास्की जिल्ला, पुल्चोक चेस क्लबले ललितपुर जिल्ला सङ्घ र दोलखा जिल्ला सङ्घले मकवानपुरलाई पराजित गरे ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमलाई ट्रफीसहित दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिने छ । 

यसै गरी प्रत्येक बोर्डमा प्रथम हुने चार खेलाडीलाई जनही १०/१० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि चार लाख ७० हजार रुपियाँ रहेको छ ।