• १२ साउन २०८१, शनिबार

ओझेलमा बाह्र सय पल्टन डाँडा

blog

१२ सय पल्टनको छरिएर रहेका अवशेष ढुङगाहरु । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, पुस २४ गते । दोलखाको बिगु गाउँपालिका स्थितको १२ सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने ) ओझेलमा परेको छ । ऐतिहासिक मात्र नभएर पर्यटकीय महत्वको यस डाँडालाई प्रवर्द्धन गर्नु पर्ने माग स्थानीयबासी गरेका छन् । 

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू प्नि देखिए तर यो महत्त्वपूर्ण ऐतिहासिक स्थल १२ सय पल्टन डाँडाप्रति न प्रसार प्रचार न सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले  स्थानीयहरू चिन्तित बनेका वडा नम्बर १ का वडाध्यक्ष मेमबहादुर तामाङले बताउनु भयो । । 

यो स्थान वडा नम्बर ३ र ४ को नजिक परे तापनि गाउँपालिकाको आठै वटा वडाको शिरमा पर्दछ । यति महत्त्वपूर्ण स्थानमा कसैको ध्यान नजानु दुःखद कुरा हो । वडा नम्बर ३ का वडाध्यक्ष ढालबहादुर तामाङले भन्नु भयो, पालिकाको बजेटले केही गर्न सकिँदैन । सङ्घीय सरकारले यसको विकास विस्तारमा लाग्नु पर्छ, हाम्रो जोडदार माग रहेको छ । 

यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बाउन सकिए पालिका मात्र होइन मुलुकलाई नै फाइदा पुग्छ । सरकारको ध्यान जान जरुरी रहेको वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र खडकाले बताउनु भयो । यो स्थान कति उचाइमा छ ? १२ सय पल्टन नाम कसरी रह्यो ? लगायतका विषयमा पालिकाले पनि चासो राख्नुपर्ने देखिन्छ । यसको विस्तृत खोजविन हुनुपर्ने देखिएको उहाँले बताउनुभयो ।  

लिखित इतिहासमा त यसको कतै उल्लेखसम्म पनि भएको देखिँदैन । केही रहस्य त पक्कै छ । इतिहासका जानकार गोकर्णप्रसाद पोखरेलले भन्नु भयो, सबैतिरबाट देखिने उच्च स्थानमा १२ सय वटा ढुङ्गा ठड्याएर नेपाली सेनाको पोसाक लगाइदिएपछि तिब्बती सेनाको ध्यान यतै गयो । यही मौका छोपेर नेपाली सेनाले बुद्धिमत्तापूर्ण तवरले फेरो हालेर तिब्बती सेनाको पछि पुगी आक्रमण गरी उनीहरूलाई परास्त गरेको किम्बदन्ती मात्र रहेको छ । सप्रमाण यसको खोजविन हुनु जरुरी भएको छ । 

प्रधानमन्त्री जङ्गबहादुर राणाकै पालामा १८५५, १८५६ मा तिब्बतसँग युद्ध हुँदाको बेला यो घटना भएको स्थानीय अगुवाहरूको भनाई छ । त्यसताका काठमाडौँ उपत्यका र सहज स्थानका मात्र इतिहास लेखिए तर यो विकट स्थानको यत्रो महत्वको कामको कहीँ कतै उल्लेखसम्म पनि नहुनु दुःख लाग्दो कुरा हो । अब सरकारको पूरा ध्यान जानु जरुरी देखिन्छ । 

त्यो बेलाका ढुङगाहरु यत्रतत्र छरिएका छन् । यहाँसम्म पुग्न गारो छ । चार÷पाँच दिनको कठोर परिश्रमको पैदल यात्राबाट यहाँ पुग्न सकिन्छ । तत्कालीन जिल्ला विकास समितिले प्रकाशन गरेको दोलखा जिल्लाको पर्यटन विकास तथा व्यवस्थापन योजना २०६९÷७०–२०७३÷०७४ पाँच वर्षका लागि प्रस्तावित आवधिक कार्यक्रम पुस्तिकामा १२ सय पल्टन शीर्षक दिएर लेखिएको छ, लामा बगर गाविसको थोपा गाउँमा १२ सय वटा ढुङ्गाको पल्टन रहेको छ । 

जसको विषयमा किम्बदन्ती छ कि नेपाल र तिब्बतबिच लडाइँ हुँदा नेपालको तर्फबाट १२ सय वटा ढुङ्गाको मान्क्षेको आकार बनाई सेनाको पोसाकले छोपेर  दुरुस्त सेनाको लस्कर देखाएर तिब्बतीलाई परास्त गरिएको थियो ।