• १२ असोज २०८१, शनिबार

जाडो छल्न वैकाल्टिल चरा नारायणीमा

blog

नारायणी नदिमा जाडो छल्न आएका वैकाल्टिल चरा । तस्बिर : मानबहादुर चौधरी

मीना कँडेल

कावासोती, पुस २३ गते । जाडो छल्न विभिन्न देशका चरा यतिबेला पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।

कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रको नारायणी नदीमा नेपालकै अति दुर्लभ फिरन्ते (वैकाल्टिल) चराहरू जाडो छल्न र आहारका लागि आएको जलपन्क्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताउनुभयो ।

वैकाल्टिल चरा काठमाडौँ, पोखरा, चितवनमा धेरै पहिले आएको अभिलेख भएपनि नेपालकै दुर्लभ चरा नवलपुरमा भने पहिलो पटक आएको हो । जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको संयोजक चौधरीको भनाई छ । नारायणी नदिमा आइतबार मात्र आएका यी चरा केही दिन नारायणी नदीमा नै रहने संयोजक चौधरीले बताउनुभयो ।

नारायणी नदीमा विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्ड लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चरा रहेका छन् । आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइसराइ गरी चराहरू यस क्षेत्रमा आउने क्रममा यो पनि आएको नेचर गाइड मानबहादुर चौधरीले बताउनुभयो । विभिन्न प्रजातिका अन्य चरा आइरहने हुँदा फरक खालको लागेपछि यस चराको बारेमा बुझिएको उहाँले बताउनुभयो ।

सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चराहरू आउने र फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो वासस्थानमा फर्किन सुरु गर्ने पनि उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुन जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो । नारायणी नदी, नवलपुर सहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चराहरू सहजै देख्न सकिने नेचर गाइड चौधरीले बताउनुभयो ।

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रम समेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपन्क्षी गणनाको कार्यक्रम अबको केही दिन पछि गरिने संयोजक चौधरीले बताउनुभयो ।