• ४ जेठ २०८१, शुक्रबार

दक्षिण अफ्रिकामा नेपाली यु–१९ टोलीको अन्तिम तयारी सुरु

blog

विश्वकप अघि दक्षिण अफ्रिकामा तयारी गर्दै नेपाली यु–१९ क्रिकेट टोली । तस्बिरहरू : क्यान

काठमाडौँ, पुस २३ गते । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ । 

विश्वकप अघि दक्षिण अफ्रिकामा केही समय तयारी र अभ्यास खेल खेल्न नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो । विश्वकपमा लागि क्यानले यसअघिनै देव खनालको कप्तानीमा १५ सदस्यीय यु–१९ विश्वकप टोलीको घोषणा गरिसकेको छ । 

नेपालले विश्वकप अघि नामिबियासँग जनवरी ९ र स्कटल्यान्डसँग जनवरी ११ तारिखमा दुई वटा प्रशिक्षण खेल खेल्नेछ । यस्तै नेपालले जनवरी १३ तारिख स्कटल्याण्ड र १६ तारिखमा वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले व्यवस्थापन गरेको अभ्यास खेल खेल्ने पनि तय भएको छ । 


विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो । 


यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा जगत् टमटा हुनुहुन्छ । 

नेपाली यु–१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द ।