राममणि दाहाल
हेटौँडा, पुस २३ गते । हेटौँडा उपमहानगरपालिका-१० स्थित जिल्ला प्रहरी कार्यालयको मोड अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो हेटौँडा ११ स्थित थानाभर्याङतर्फबाट बसपार्कतर्फ आउँदै गरेको लु १ क ५०६४ नम्बरको सिमेन्ट कङ्क्रिट मिक्स्चर मेसिन ट्रकमा बुद्धचोकतर्फबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४५ प ९३३३ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्रकमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक हेटौँडा १० न्युरेनीका वर्ष १९ को रविन सुनार टाउको र दाहिने खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सुनारको हेटौँडा अस्पताल भएको र मोटरसाइकल, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसबिच मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीस्थित मनहरी खोलाको बगर छेउमा बस्ती नजिकै स्थानीय सञ्जीव विक अचेत अवस्थामा फेला पर्नुभएको छ । सोमबार बिहान अटो चालकले विकलाई अचेत अवस्थामा फेला पारी उपचारका लागि स्थानीय मेडिकलमा लगेकोमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर चितवनतर्फ पठाएको छ । शरीरमा बाहिरी चोट नभएको, टी–सर्ट मात्र लगाएको र निजले खोलाको बगरमा आगो तापेर बसेको जानकारीमा आएको प्रहरीले जनाएको छ ।