• २१ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभामा कर्णालीबाट छ जनाको उम्मेदवारी

blog

निर्वाचनका लागि कर्णाली प्रदेशबाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धन उम्मेदवार । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, पुस २३ गते ।
 राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

तीन सिटमा हुने निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को भागमा एक/एक सिट परेको छ ।

जसअन्तर्गत महिलातर्फ नेकपा एसका सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार हुनुभएको छ । उम्मेदवारी दर्ताका लागि पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरू निर्वाचन कार्यालय पुगेका थिए ।

यस्तै, निर्वाचनका लागि नेकपा (एमाले) कर्णाली प्रदेशका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि हुन लागेको निर्वाचनमा एमालेले पनि तीनै जना उम्मेदवार उठाएका छन् ।


एमालेका तर्फबाट महिलामा हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवार दिनुभएको छ । उम्मेदवारी दर्ता गर्न जाँदा स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरीय सबै नेताहरू निर्वाचनको कार्यालयमा पुग्नुभएको थियो ।