• १५ मंसिर २०८१, शनिबार

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना

blog

फाइल तस्बिर

गण्डकी, पुस २३ गते । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । सिमसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवम् पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रदर्शकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।

उपत्यकाले जलपन्छी गणनाको २० औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपन्छीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पन्छीमध्ये १३ जलपन्छी छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपन्छीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनास र रुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो । रासस