• २१ वैशाख २०८१, शुक्रबार

कोशीमा गठबन्धन र एमालेसमेत चारजनाको उम्मेदवारी

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य चम्पादेवी कार्की मनोनयन दर्ता गर्नुहुँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, पुस २३ गते । 
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदैछ ।

गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादीका केन्द्रीय सदस्य चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । नेता सिटौलाले अन्य तर्फबाट राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिनुभएको हो भने कार्कीले महिलातर्फबाट उम्मेदवारी दिनुभएको हो । कार्की जनयुद्धका क्रममा हात गुमाउनुभएका घाइते लडाकु हुनुहुन्छ ।

सिटौलाको प्रस्तावकमा कांग्रेसका प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थकमा कांग्रेसकै प्रदेश सभा सदस्य हिमाल कार्की रहनुभएको छ । यस्तै, कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रामकुमार खत्री हुनुहुन्छ ।

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्यतर्फ परशुराम अधिकारी र महिला तर्फबाट रुकमणि कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसहित उपस्थितिमा दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । अधिकारीको प्रस्तावकमा प्रदेश सभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहनुभएको छ भने कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दीक्षित कार्की हुनुहुन्छ ।

यसैबिच नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताउनुभएको छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको बताउनुभएको हो । उहाँले पार्टीबाट सर्वसम्मत उम्मेदवार भएको भन्दै निर्वाचित भएपछि दलबिच समझदारी बनाउन आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेता सिटौलाले कांग्रेसका उम्मेदवारहरूलाई र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन कांग्रेसले एकताबद्ध हुने बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि केहीबेरमा उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । राप्रपाले अन्य समूहबाट उद्धव पौडेललाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।