• १५ मंसिर २०८१, शनिबार

आर्थिक अपराध हेर्न छुट्टै प्रहरी ब्युरो: महानिरीक्षक कुँवर

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ।

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २२ गते। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शान्ति, सुरक्षा कायम गर्न तीन तहका सरकारबिच समन्वय जरुरी भएको बताउनुभएको छ। पोखरामा सोमबार आयोजित कार्यक्रममा प्रदेशका कार्यालय प्रमुख र प्रहरीलाई निर्देशन दिँदै उहाँले स्थानीय आवश्यकता र सामाजिक भावना बुझेर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो।

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित सो कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रहरी प्रमुखसहित प्रहरी अधिकृतको सहभागिता थियो। 

कार्यक्रममा महानिरीक्षक कुँवरले वित्तीय अपराध र बैङ्किङ कसुरका घटना निकै बढेको जनाउँदै ती घटनाको अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको औँल्याउनुभएको छ। “त्यस्ता घटना अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्युरो स्थापना गर्न लागिएको छ,” उहाँले भन्नुभयो,“यस्ता अपराधका घटनाले देशकै अर्थतन्त्रलाई गम्भीर असर गर्नेभएकाले नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ।” 

गण्डकी प्रदेशमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस्ता घटना दुई सय प्रतिशतले बढेको उहाँले औँल्याउनुभयो। साइबार अपराध, लागुऔषध दुर्व्यसनी लगायतका अपराध प्रहरीका लागि चुनौती बन्दै गएको उहाँको भनाइ छ। 

काम गर्ने बेला शिष्ट व्यवहार गर्न र कानुनी कारबाहीमा निष्पक्षता कायम राख्न उहाँले निर्देशन दिनुभयो। लागुऔषध नियन्त्रणका लागि जिल्ला तहमा कार्ययोजना बनाएर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो।