• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीका ११ पालिकामा आफ्नै पाठ्यक्रम

blog

चन्द्रकोटमा स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तहको पाठ्यपुस्तक सार्वजनिक गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस २२ गते । गुल्मीका ११ वटा स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेका छन् । नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले व्यवस्था गरेअनुसार ११ वटा तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । 

१२ वटा स्थानीय तहमध्ये इस्माबाहेक अन्य स्थानीय तहले पाठ्यक्रम निर्माण गरेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो। इस्मा गाउँपालिकाले आधारभूत तहको पाठ्यक्रम निर्माणको मस्यौदा तयार गर्दै गरेको मरासिनीले बताउनुभयो ।

सात स्थानीय तहमा पाठ्यपुस्तक

११ वटा स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेपनि ७ स्थानीय तहले पाठ्यपुस्तक नै निर्माण गरेका छन् । धुर्कोट गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ भने कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक छपाइको क्रममा छ । मालिका गाउँपालिकाले आधारभूत तहको पाठ्यपुस्तक निर्माण गरेको छ । 

रुरुक्षेत्र गाउँपालिकामा कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको क्रममा छ । चन्द्रकोट गाउँपालिकाले आधारभूत तहको पाठ्यपुस्तक निर्माण गरेको छ । मदाने गाउँपालिकाले आधारभूत तहको कक्षा ४,७ र ६ को पाठ्यपुस्तक छपाइको क्रममा रहेको शिक्षा शाखाले जनाएको छ । सत्यवती गाउँपालिकामा आधारभूत तहको पाठ्यपुस्तक निर्माण भएको छ ।    

अहिलेका विद्यार्थीहरूले स्थानीय कला संस्कृतिका साथमा पर्यटकीय स्थल लगायतका बारेमा अञ्जान भएकाले स्थानीय पाठ्यक्रम आवश्यक रहेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । पुस १९ गते गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विमोचन गरेको छ ।  

स्थानीय कला, संस्कृति, पर्यटकीय स्थल र भेषभूषाहरुको बारेमा जान्न र बुझ्नसक्ने बताउनुभयो । स्थानीय पाठ्यपुस्तक्रममा गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक स्रोत साधन, धर्म संस्कृति तथा विविधता, स्थानीय पेसा, परम्परागत सीप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार समेटिएको छ । 

यसकासाथै स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप, जोखिम व्यवस्थापन, हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधिजस्ता विषयवस्तुहरू समेटिएको शिक्षा शाखाका प्रमुख नयनसिंह ठकुरीले जानकारी दिनुभयो ।

स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकले राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुको बारेमा बुझाउन सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।