• २७ पुस २०८१, शनिबार

ज्येष्ठ नागरिक तथा बालबालिकालाई आगो ताप्ने व्यवस्था

blog

नेपालगन्जमा आगो ताप्ने व्यवस्था मिलाइएपछि आगो ताप्दै स्थानीय ।

सिराज खान

नेपालगन्ज, पुस २२ गते । जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो ।

विपद् व्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार शीतलहर र चिसोबाट ज्येष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो व्यवस्थापनमा पहुँच नपुगेका व्यक्ति र समूहलाई जोगाउन आगो ताप्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले शीतलहरबाट प्रभावित हुनसक्ने जोखिमलाई ध्यानमा राखेर केही दिनअघि स्वीकृत गरिएको 'शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८०' बमोजिम सो व्यवस्था गरिएको बताउनुभयो ।

सोही प्रकारले व्यवस्था मिलाउन जिल्लाका सबै सरोकारवाला निकाय र संस्थालाई लिखित अनुरोध गरिसकिएको प्रजिअ पोखरेलले बताउनुभयो । वन कार्यालय र सामुदायिक वनसँग समन्वय गरी सहुलियत दरमा दाउरा प्राप्त गरी सामूहिक आगो ताप्ने प्रबन्ध मिलाउनु हुन स्थानीय सरकारसहित सबैमा अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार प्रजिअ पोखरेलको नेतृत्वमा नेपाली सेनाका गणपति रविन श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरीक्षक रमेशविक्रम शाहीसहितको टोलिले बालबालिका, ज्येष्ठ नागरिक, न्यानोमा कम पहुँच भएका समूहलाई लक्षित गरी सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

नेपालगन्जस्थित निल सागर, मानव सेवा आश्रम, बढी भिडभाड हुने स्थान, चोकहरूमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइएको समितिले जनाएको छ । मातहतका सुरक्षा निकाय सबैलाई स्थानीय सरकार, सामुदायिक वनसँग समन्वय गरी आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिइसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।