• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचन

गठबन्धनमा सिट बाँडफाँट, १० कांग्रेस र ६ माओवादीलाई

blog

सत्ता गठबन्धन बैठक । फाइल तस्बिर

ललितपुर, पुस २२ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बिचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुङ्गो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ ।’’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताउनुभयो । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।

मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।