तिलाचन पाण्डे
तम्घास, पुस २२ गते । कालीगण्डकी कोरिडोरको निर्माण कार्यमा ढिलाइ भएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर गुल्मी खण्डको हर्मिचौर बलेवा सडक खण्डमा ४५ किलोमिटर सडक निर्माणकार्य सुस्त गतिमा भएको हो ।
सडकको अहिले ३५ प्रतिशत काम भएको निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनका इन्जिनियर गौरवव्रिकम शाहले जानकारी दिनुभयो । रकम अभावका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ । काम गरेवापत अहिले आफूहरूले ३५ करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको र काम गर्न सक्ने अवस्था नभएकाले कामदारहरू फिर्ता ल्याउने तयारी गरेको शाहले बताउनुभयो ।
निर्माण व्यवसायीले कामदार पनि कटौती गरेको छ । कोरिडोरमा करिब आठ सय कामदारहरूले दैनिक रूपमा काम गर्दै आए पनि अहिले भने एक सय जति कामदार रहेको उहाँले बताउनुभयो । पुस मसान्तसम्म भुक्तानी नभएमा काम नै ठप्प हुने शाहले बताउनुभयो ।
कालीगण्डकी कोरिडोर गैँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना पाल्पाका इन्जिनियर अरुण खत्रीले बजेट अभावका कारण काममा ढिलाइ भएको बताउनुभयो ।
निर्माण व्यवसायीलाई करिब १८ करोड रकम पहिलेकै भुक्तानी दिन बाँकी रहेका कारण काममा ढिलाइ भएको उहाँले बताउनुभयो । यही अवस्थामा भुक्तानी दिन सकिने अवस्था नभएको उहाँको भनाइ छ । केन्द्रसँग बजेटका लागि आफूहरूले समन्वय गरिरहेको र निर्माण व्यवसायीले पुस मसान्तसम्म भुक्तानी नभएमा काम अगाडि बढाउन नसकिने मौखिक जानकारी गराएको बताउनुभयो ।
यता गुल्मी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले कोरिडोरको काम नरोक्नका लागि आफूले भौतिक मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय गरेकाले काम नरोकिने दाबी गर्नुभयो ।
गुल्मीको हर्मिचौरदेखि बागलुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न तीन अर्बको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
यस्तै जिल्लाको रिडीदेखि हर्मिचौरसम्मको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको खत्रीले बताउनुभयो । सो सडक खण्डको करिब ९५ प्रतिशत कार्य सम्पन्न भएको खत्रीको भनाइ छ ।