• १८ वैशाख २०८१, मङ्गलबार

फूलको मन (कविता)

blog

फूलको मन 

कति दुख्दो हो

फक्रेर फूल्न नपाउदै

चुडिनु पर्ने उसको पीडा

कस्ले बुझ्यो होला ?


रातभर चिसो सपना

विहान आँशु बनेर

पोखिएको शित

सुक्न नपाउँदै 

भगवानको नाममा

बलिदान हुनुपर्ने 

उसको व्यथा

कसले जान्यो होला ?


जूनको स्पर्शमा

हाँसेका ओठहरु

घामको झुल्कामा

धर्मका हातहरुले

ईश्वर रिझाउने बहानामा 

प्रकृतिमा रम्न नपाउँदै

पवनको माधुर्यमा खेल्न नपाउँदै

पूजाका लागि लुटिनुपर्ने

उसको बाध्यतामा

कुन धर्मले न्याय खोज्यो होला ?


फूल कोमल हुन्छ 

त्यसैले ऊ चुँडिनु पर्छ 

फूल सुन्दर हुन्छ 

त्यसैले ऊ लुटिनु पर्छ 

फूल विद्रोह बोल्दैन 

त्यसैले ऊ अन्यायमा पर्छ 


धर्मका मन्दिरहरुमा 

खुसीका घरहरु छैनन्

भगवानका पूजाहरुमा

मानवीय सद्भाव छैनन् 

न्यायका पूजारीहरुले

फूलको मन बुझेका छैनन् 

   चन्द्रागिरि – १५ , काठमाडौ