• २९ वैशाख २०८१, शनिबार

सर्लाही घटना: मृतकको शव अझै घटनास्थलमा, प्रशासन र पीडित परिवारबिच वार्ता जारी

blog

जनार्जन खत्री

सर्लाही,  पुस २२ गते । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशङ्कर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । 

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको बरहथवास्थित चोर्निया पुलमा घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन । आइतबार अहिले पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदै छ । स्थानीयहरू शुक्रवार दिउँसोदेखि नै मृतकको शव सडकमै रुँगेर बसेका छन् । उनीहरू माग पूरा नहुन्जेल शव उठाउन नदिने भन्दै कठ्याङ्ग्रिँदो चिसोमा सडकमै बसिरहेका हुन् । 

सरकारले तीन सदस्यीय छानबिन समिति बनाएर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने र मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ दिने निर्णय गरे पनि यहाँ आन्दोलन रोकिएको छैन । अवस्था थप बिग्रन नदिन बरहथवा बजारमा जिल्लाभरबाट तथा प्रदेशबाट समेत थप मद्दत मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । 

बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा प्रहरीले पहरा दिएर बसेको छ । गएको असोज ९ गते नगरप्रमुख कटुवालसहितका जनप्रतिनिधिले कार्यपालिका बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको थियो । 

बिचमा यो निर्णय कार्यान्वयन गर्न माग गर्दै काँग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टीले दबाब दिँदै आएका थिए । तर, यही पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णय उल्ट्याउँदै स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय स्थगित गर्ने निर्णय गरेपछि तनाव बढेको हो ।

नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका कार्यपालिका सदस्य अस्पताल हस्तान्तरण नगर्ने पक्षमा छन् । अस्पताल हस्तान्तरणकै विवादले एक युवकको ज्यान जानुका साथै सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ । 

गएको शुक्रवारदेखि नै बरहथवा बजार खुल्न सकेको छैन । नयाँरोड–बरहथवा सडकमा यातायात चल्न सकेका छैन । तीन दिनदेखिको बन्दले सर्वसाधारण प्रभावित बनिरहेका छन् ।