• १४ असार २०८१, शुक्रबार

‘चीनसँग निश्चित खेलमा सहकार्यको थालनी गर्ने चाहना’

blog

राखेप सदस्य सचिव टङ्कलाल घिसिङ चीनमा हालै सम्पन्न १९औँ एसियाली खेलकुद आयोजक कमिटीका उप सचिव झेङ याउसँग भेट गर्दै ।

काठमाडौँ, पुस २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औँ एसियाली खेलकुद आयोजक कमिटीका उप सचिव झेङ याउसँगको भेटमा नेपालले केही निश्चित खेलमा सहकार्यको थालनी गर्न चाहेको बताउनुभएको छ । 

सदस्य सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका सुरुवातमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताउनुभएको हो । ‘‘कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरूलाई सम्पर्क गर्छौँ,’’ घिसिङले झेङ याउसँग भन्नुभयो ।

घिसिङले १९औँ एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाई दिँदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताउनुभयो । घिसिङले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबिच नेपालमा उमेरसमूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको स्मरण गराउनुभएको थियो । 

निर्देशक झेङ याउले एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहजनक रहेको बताउँदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबिच कसरी सहयोग आदान प्रदान गर्न सकिन्छ ? भन्ने रहेको बताउनुभयो । उहाँले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै छलफललाई निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको नौ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।