• १२ असोज २०८१, शनिबार

टी–२० विश्वकप : नेपालको समूहमा तीन टेस्ट टोली

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस २१ गते । अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी–२० विश्वपमा नेपाल समूह ‘डी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका र समूह विभाजन अनुसार नेपाल समूह ‘डी’ मा परेको हो ।

नेपालको समूहमा नेपाल र नेदरल्यान्ड्सबाहेक सबै टेस्ट टोली छन् । जसमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छ । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेल खेल्दै विश्वकपको थालनी गर्नेछ ।

उक्त खेल अमेरिकाको डल्लासमा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ तारिख श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र अन्तिम खेल जुन १६ तारिख बङ्गलादेशसँग सेन्ट भिन्सेन्टमा खेल्ने तालिका छ । 

यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान,आयरल्यान्ड, क्यानडा र अमेरिका छ । समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छ । समूह ‘सी’मा न्यूजिल्यान्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरी उक्त समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । आइसिसीले यसअघि विश्वकप जुन ४ देखि ३० तारिखसम्म सञ्चालन गर्ने मिति तय गरे पनि पुन: मिति हेरफेर गरेको हो ।

विश्वकपको उद्घाटन खेल आयोजक अमेरिका र क्यानडाबीच जुन १ तारिख डल्लासमा हुनेछ । नेपालले गत कात्तिकमा काठमाडौँमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै विश्वकप यात्रा तय गरेको थियो ।

नेपालले १० वर्षपछि दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।