• १२ असोज २०८१, शनिबार

इतिहासको झल्को दिँदै एकीकरण पदयात्रामा सेना

blog

पदयात्रामा सहभागी नेपाली सेना । तस्बिरः नरेन्द्र

नरेन्द्र ढकाल

गोरखा, पुस २१ गते । नेपाली सेनाले एकीकरण पदयात्रा सुरु भरेको छ । शनिबार बिहान एक कार्यक्रमका बिच यात्रामा निस्केन सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतना पति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो । 

‘वर्तमान नेपाल निर्माणका बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ठुलो योगदान छ । उहाँले नेपाली सेनाको पनि त्यहीँ बेला निर्माण गर्नु भएको थियो,’ उहाँले भन्नुभयो,‘नेपाल एकीकरणसँग सम्बन्धित कोटकिल्लाको संरक्षण र संवर्द्धन गर्नु हाम्रो पनि दायित्व हो । सोही अनुरूप यो पदयात्रा भएको हो ।’ 

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमायाँ थोकर, गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत, पत्रकार महामहासङ्घका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, गोरखा दरबार हेरचाह अड्डका प्रमुख विष्णुप्रसाद पाठक लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) को झण्डा सहित नेपाली सेनाको टोली गोरखा दरबारबाट हिँडेको हो ।

टोलीमा नेपाली सेनाको परम्परागत पोसाक (कालो कपडा) मा सजिएका १० जना र हालको कार्यालय पोसाकमा २० जना सैनिक सहभागी भएका छन् । टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरू (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित उनीहरू पदयात्रामा सहभागी भएका छन् । 

‘नेपाल एकीकरण र नेपाली सेनाको इतिहाससँग जोडिएका ऐतिहासिक गढी, कोट, किल्ला, कोषेढुङ्गा (हरेक कोष, कोषमा गाडिएको ढुङ्गा) पार्टी, पौवा र ऐतिहासिक चिजहरूको खोजी गर्ने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘त्यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने नेपाल सरकार र नेपाली सेनाको नीति छ ।’

नेपाली सेनाको आयोजनामा भएको यो चौथो पदयात्रा हो । पदयात्रालाई गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सहयोग गरेका छन् । ‘गोरखा ऐतिहासिक भूमि हो । पृथ्वीनारायण शाह र नेपाली सेनाको गौरमय इतिहास जोडिएको यस महान् कार्यक्रममा हामी पनि सहभागी हुन पाउँदा गर्भ लागेको छ,’ गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले भन्नुभयो,‘यसलाई एकीकरण पदमार्गका रूपमा विकास गर्ने हाम्रो योजना छ ।’

पञ्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ हुँदै बोर्लाङ्गको घाटबेंसी पुर्‍याइनेछ । साँझ एक कार्यक्रमका बिच धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाको रिपुमर्दन गणका सेनानी भुवन थापा मगरले जानकारी दिनुभयो । 

गोरखा सदरमुकामबाट हिँडेको टोलीलाई हरेक वडा र कोषेढुङ्गाहरुमा स्वागत तथा चियापान गरी बिदाइ गर्ने कार्यक्रम छ । यो क्रम धादिङ, नुवाकोट हुँदै काठमाडौँ सम्म जारी रहनेछ । त्यसपछि धादिङले नुवाकोटलाई नुवाकोटले काठमाडौँको सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम  गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझ सम्म काठमाडौँको हनुमान ढोकामा पुर्‍याइनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस एवं पृथ्वीजन्यती मूल समारोहमा शार्दूल जङ्ग गुल्मले उक्त टर्च र झण्डा सहित प्रस्तुति गर्ने कार्यक्रम छ ।

राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौँ हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरूलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी छ ।