• २९ वैशाख २०८१, शनिबार

सर्लाही घटना: भोली बिहान ८ बजेसम्म निषेधाज्ञा

blog

युवकको गोली लागेर मृत्यु भएको घटनास्थलमा शनिबार बिहानैदेखि जम्मा भएका स्थानीय । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले शनिवार बिहान जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश शब्द उल्लेख गरिएको छ । 

कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा एवम‌् गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्स्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा लागु भएको बरहथवा बजार क्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि शनिवार बिहानदेखि बिस्तारै भिडभाड बढ्न थालेको छ ।

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन । प्रशासनले घटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकको सालिक निर्माण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्ने, बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई निलम्बन गर्नुपर्ने लगायतको माग राखेर शव घटनास्थलमै राखिएको हो । 

अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो । साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्नुहुन्थ्यो । उहाँलाई बरहथवा बजारस्थित विद्युत कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।