ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस २१ गते । ‘‘छरछिमेकका साथीभाइ धेरै पैसा कमाउने लोभमा विदेशतिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेरदेखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो ।
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ सल्यानका ३८ वर्षीय युवा कृषक आचार्यले विगत २३ वर्ष देखि निरन्तर रूपमा गाउँमै व्यावसायिक ताजा तरकारी उत्पादन गर्दै आउनुभएको छ । उहाँ पालिकाकै सफल किसान समेत हुनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘‘परिश्रम गरे यही माटोमा सुन फलाउन सकिन्छ । पैसा कमाउन विदेश जानुपर्दैन ।’’
कृषक आचार्यले बाउ बाजेले अङ्गालेको कृषि पेसालाई निरन्तरता मात्र दिनुभएको छैन उहाँले कृषि पेसाबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने समाजमा गतिलो उदाहरण बनेर देखाउनुभएको छ । व्यावसायिक रूपमा तरकारी खेती गर्न उहाँले जलजला एकीकृत कृषि फर्म दर्ता गर्नुभएको छ । कृषि पेसाका साथै आचार्य गाउँघरमा समाजसेवा र राजनीतिमा पनि सक्रिय हुनुहुन्छ ।
आचार्यले अहिले सल्यानको फाँटमा करिब १३ रोपनी क्षेत्रफलमा काउली,बन्दागोभी, गोलभेँडा, मुला, सागलगायतका ताजा तरकारी खेती गर्नुभएको छ । बेमौसममा तरकारी उत्पादन गर्न चार वटा प्लास्टिकका घर आचार्यले निर्माण गर्नुभएको छ । तरकारी खेतीका लागि केही जमिन भाडामा लिनुभएको छ ।
गोलभेँडा र काउली टिपेर बजार लैजान हिजोआज आचार्यलाई भ्याई–नभ्याई छ । अघिल्ला वर्षहरूमा भन्दा यसपालिको सिजनमा गोलभेँडा र काउली राम्रो उत्पादन भएकाले आचार्यको मुहारमा खुसी छाएको छ । उहाँले भन्नुभयो, ‘‘बाउ बाजेले पसिना बगाएको माटोमा मैले पनि भविष्य देखेँ । यही माटोमा श्रम र पसिना बगाउँदा खुसी मिलेको छ ।’’
प्लास्टिक घरभित्र यतिखेर गोलभेँडा र काउली खेती राम्रो फस्टाएको छ । विउन्सरी जातका गोलभेँडा लटरम्म फलेका छन् । भदौ महिनामा प्लास्टिक घरभित्र लगाएको गोलभेँडाको बोटले चैत महिनासम्म फल दिने उहाँले बताउनुभयो । गोलभेँडाबाट यो सिजनमा करिब दुई देखि तीन लाख रुपियाँसम्म आम्दानी हुने उहाँले सुनाउनुभयो ।
प्लास्टिक घरभित्र लगाएको गोलभेँडा खेतीले लामो समयसम्म उत्पादन दिने,धेरै फल्ने र राम्रो पनि हुने उहाँको अनुभव छ । उहाँको अहिले प्लास्टिक घरभित्र लोभलाग्दो गोलभेँडा खेती छ । अहिले गोलभेँडा र काउली बेनी बजारमा होलसेलमा चालिस देखि पचास रुपियाँ प्रतिकेजीमा बिक्री हुने गरेको आचार्यले बताउनुभयो । तरकारी बिक्री गरेर वार्षिक रूपमा सबै खर्च कटाएर ६ देखि ८ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । तरकारी खेतीबाट छोराछोरीलाई पढाउन, घर खर्ची चलाउन सहज हुनुका साथै अलि अलि बचत हुने गरेको उहाँको भनाई छ ।
सडक सुविधा भएकाले उत्पादन गर्न सके बजार पुर्याउन सहज भएको उहाँले बताउनुभयो । यहाँका किसानले बेमौसममा उत्पादन गरेको तरकारी लिन व्यापारीहरू खेतबारीमै पुग्ने गरेका छन् ।
‘गहुँ, धान, कोदो र मकैखेती गर्दा परिवार पाल्न धौधौ थियो । तरकारी खेती गर्न थालेपछि परिवार पाल्न, छोराछोरीलाई पढाउन निकै सहज भएको छ । सानोतिनो काम गर्नका लागि कसैसँग हात थाप्न जानुपरेको छैन’, आचार्यले भन्नुभयो, ‘सबै परिवार यसै कृषि पेसामा रमाएका छौँ । घरपरिवार मिलेर खेती गर्दा मनमा खुसी मिलेको छ । तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत पनि भएको छ ।’
उहाँले भन्नुभयो, ‘‘विदेश जाने त कुरै नगरौँ पासपोर्ट कस्तो हुन्छ मलाई थाहा छैन । कृषि पेसामा ऊर्जाशील उमेर बित्न लाग्यो । आफ्नै माटोमा पसिना बगाउने अनि सुन फलाउने हो ।’’ म स्थानीय विद्यालयमा शिक्षिका छु बिहान बेलुका श्रीमानलाई सघाउने गरेकी छु आचार्यको श्रीमती सङ्गीता आचार्यले भन्नुभयो, ‘‘कृषि पेसाबाट हाम्रो परिवार सन्तुष्ट छ । सरकारी सेवाभन्दा कृषि पेसा नै राम्रो लागेको छ ।’’
तीन वर्ष अघि गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागू गरेपछि यहाँका कृषकलाई प्लास्टिक घर निर्माण,भकारो सुधार र कृषि औजारमा ८५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आउन थालेपछि व्यावसायिक तरकारी उत्पादन गर्ने युवा किसानको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय सरकारले पनि कृषकलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने कृषक आचार्यको सुझाव छ ।