• १४ मंसिर २०८१, शुक्रबार

‘बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने छ’

blog

निशा राई 

धरान, पुस २१ गते  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउँदो शैक्षिक सत्रबाट विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने बताउनुभएको छ । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै शुक्रबार उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक सङ्कटमा परेको पाइएको छ । त्यसैले आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।”

मन्त्री बस्नेतले प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा नभई एसियाकै ठुलो अस्पताल रहेकाले नेपालकै प्रतिष्ठाका रूपमा रहेको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको दायित्व भएको पनि बताउनुभयो ।

प्रतिष्ठानले माग गरेको एमआरआई मेसिनका बारेमा मन्त्रालयको पनि ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले त्यसका लागि ३० करोड रुपियाँ लाग्ने भए पनि प्रतिष्ठानको आवश्यकतालाई बुझेर यसै वर्ष मेसिन खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसै गरी प्रतिष्ठानमा डायलासिस मेसिनको कमीका बारेमा गरिएको मागका बारेमा पनि मन्त्री बस्नेतले मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । 

स्वास्थ्य बिमाका बारेमा सरकारले नयाँ धारणा अनुसार काम सुरु गरेको बताउनुभयो । उहाँले बिमालाई उपचारका लागि भन्दा उपयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्दै अब एक ठाउँमा गरेको बिमाले जुनसुकै अस्पतालमा उपचार पाउने व्यवस्था गर्ने नीति बनाउने पनि स्पष्ट पार्नुभयो । 

मन्त्री बस्नेतले बिपी प्रतिष्ठानमा पछिल्लो समय डाक्टर, कर्मचारीको बढुवा प्रव्रिmयालाई लिएर निकै विवाद भए पनि आउँदो वर्षसम्ममा बढुवा प्रव्रिmया अगाडि बढाउने बताउनुभयो । 

मन्त्री बस्नेतले पैसाको अभावमा कोही पनि नेपालीलाई मर्न नदिने जिम्मा राज्यले लिने भन्दै पैसाको अभावले उपचार गराउन नसक्ने कोही बिरामी भए वडाले सिफारिस गरेर पठाएमा सम्बन्धित अस्पतालमा समन्वय गरेर निःशुल्क उपचार गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानको इमर्जेन्सी वार्ड, ओपडी वार्डदेखि सर्जरी भवनलगायत सबै भवन अनुगमन गर्नुभएको थियो ।