अविनाश चौधरी
धनगढी, पुस २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उहाँले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिनुभएको हो । ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।
आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गर्नुभयो ।
पश्चिम सेती जलविद्युत परियोजना लगानी वाेर्डबाटसमेत स्वीकृत भई आएकाले सुदूरपश्चिमवासीको सपना चाँडै पूरा हुने परियोजनाका महाप्रबन्धक उपाध्यायले बताउनुभयो । पश्चिम सेतीले रोजगारी सृजनाको गर्नुका साथै यहाँको आर्थिक विकासमा टेवा पुर्याउने उहाँको भनाइ थियो ।
निरीक्षण टोलीमा प्रदेश सभा सदस्य विक्रमसिंह धामी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, डोटीको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर रहनुभएको थियो ।