धनगढी समाचारदाता
धनगढी, पुस २१ गते । कैलालीको पर्यटकीय स्थलमा मौलिक पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको छ । विभिन्न जनजातिको पहिरन लगाएर फोटो खिच्नेदेखि टिकटक, रिल बनाउनेका कारण परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको हो । धनगढी उपमहानगरपालिकाको जाखोर ताल, गोदावरी नगरपालिकाको गोदावरी पुललगायत पर्यटकीय स्थलमा परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाइरहेको छ ।
घुम्नका लागि पर्यटकीय स्थलमा पुगेका अवलोकनकर्ताले विभिन्न समुदायको पहिरन भाडामा लिएर लगाउने र पर्यटकीय स्थलमा रमाउने गरेका छन् । थारू, नेवार, तामाङ, गुरुङ, मगरलगायत समुदायका महिलाले लगाउने मौलिक पहिरन र गरगहना भाडामा दिने गरिएको छ । यस्ता पहिरनको प्रतिघण्टाको एक सयदेखि दुई सय रुपियाँसम्म भाडा लिने गरिएको छ । धनगढीको जाखोर तालमा भाडामा सांस्कृतिक पहिरन उपलब्ध गराउँदै आएकी सुमित्रा रानाले आधा घण्टाको एक सय र एक घण्टाका लागि दुई सय रुपियाँमा भाडा लिने गरेको बताउनुभयो ।
पहिरन भाडा दिने व्यापारबाट कुनै दिन एक/दुई हजारदेखि बढीमा चार/पाँच हजार आम्दानी हुने गरेको उहाँले उल्लेख गर्नुभयो । “अहिले घुम्न आउने घटेका छन् तर दसैँ, तिहारका बेला धेरै व्यक्ति घुम्न आउँदा अझ बढी आम्दानी हुने गर्दछ,” उहाँले भन्नुभयो ।
विभिन्न जनजाति समुदायको मौलिक पहिरनप्रति मान्छेको आकर्षण बढ्दो छ । कतिपयले सात सय रुपियाँसम्म तिरेर पनि यस्ता पहिरन लगाएर रमाउने गरेको भाडामा पहिरन उपलब्ध गराउँदै आएको ट्विन्स कलेक्सनकी विपना चौधरीको भनाइ छ । सय रुपियाँमा भाडामा थारू ड्रेस लिएर लगाएको अवस्थामा जाखोर तालमा भेटिनुभएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी रेविका रानाले मौलिक पहिरनमा आकर्षक देखिने बताउनुभयो ।