बाबुराम शर्मा
दोलखा, पुस २१ गते । थामी जातिको उत्पत्तिको रूपमा रहेको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावती राङराङथलीमा थामी सङ्ग्रहालय निर्माण सुरु भएको छ ।
सङ्ग्रहालय निर्माणका लागि मन्त्रालयबाट छ करोड ८९ लाख रुपियाँको बजेट सुनिश्चितता भएपछि नगरपालिकाबाट टेन्डर आह्वान गरी डेढ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई निर्माणको काम थालनी भएको नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर सुरेश राउतले बताउनु भयो ।
लागत सात करोड चार हजार रहेकोमा चार करोड ४७ लाख ५६ हजार रुपियाँमा ठेक्का लागको हो । ठेककाको काम पाएको सानो सुहाल आङदोर्जे जेभीले निर्माणको काम गरिरहेको छ ।
डीपीआरअनुसार सङ्ग्रहालयमा अत्याधुनिक क्यान्टिन सहितको कार्यक्रम हल, भूमे स्थान, पाहुना घर, काउन्टर सहितको पालेघर,बाल बगैँचालगायत संरचना निर्माण हुने छन् । यो सङ्ग्रहालय संसारभरका पर्यटकको आकर्षणको केन्द्र बन्ने अपेक्षा राखिएको छ ।
राङराङथली थामी जातिको ऐतिहासिक थलोलाई पहिचान गरेर सङ्ग्रहालय बनाउन लागिएको हो । सङ्ग्रहालय निर्माण स्थलसम्म सडक पुगिसकेको बताउँदै योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर राउतले भन्नु भयो, छेउमै जोडिएको जङ्गललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रूपमा विकास गरिएको छ । थोरै क्षेत्रमा ५० प्रजातिभन्दा बढी सुनाखरी भेटिएका छन् । पदमार्ग दुई किलोमिटरको रहेको छ ।
थामी जातिका पुर्खाले बस्ती बसालेको भग्नावशेष सङ्ग्रहालय निर्माण स्थलमा फेला परेको छ । थामी जातिको पुर्खा यही ठाउँमा आएर बसेको प्रमाणित भएको छ । यहाँ भेटिएका भग्नावशेषले यसलाई पुष्टि गरेको छ । वडाध्यक्ष माधव थामीले भन्नुभयो,त्यस वेला प्रयोग गरिएको चुलो, पानी पिउनका लागि प्रयोग गरिएको पोखरी, बस्न प्रयोग गरिएको ओढार यहाँ फेला परेका छन् । यही ठाउँमा सङ्ग्रहालय निर्माण हुनु अत्यन्तै राम्रो पक्ष हो ।
जिल्लामै आदिवासीको रूपमा रहेको थामी समुदायको संस्कृति संरक्षण एवं सम्वद्धृनका लागि यो सङ्ग्रहालय निर्माण हुन लागेको हो । सङ्ग्रहालय करिब १० रोपनी जग्गामा फैलिएको छ । यसमा थामी जातिका पुराना तथा ऐतिहासिक सामान, साहित्य, भेषभूषाआदि रहने छन् । पुराना डिजाइनका थामी संस्कृति झल्कने दुई वटा भवन पनि निर्माण हुँदै छन् ।