• १३ मंसिर २०८१, बिहिबार

बचतकर्तामाथि घात गर्ने कानुनको दायरामा आउने छन् : अर्थमन्त्री डा. महत

blog

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजतजयन्ती समारोहमा मन्तव्य राख्नु हुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस २० गते। अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट बचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताउनुभएको छ।

सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताउनुभएको हो।  अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको समुद्घाटन गर्दै महतले सदस्यको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको बताउनुभयो। 

‘‘बचतकर्ताको विश्वासलाई माथि घात गर्नेहरू एक छिनको लागि कानुनको दायरा बाट भाग्लान् तर सधैँ भाग्न सक्दैनन्’’, उहाँले भन्नुभयो, ‘‘कानुनको दायरामा उनीहरू अवश्य पनि आउँछन्। किनभने बचतकर्ताको पैसा हो। यहाँहरूको पसिनाको एक एक पैसा बाट जम्मा भएको रकम हो। दुरुपयोग गर्ने छुट छैन।’’ 

सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैङ्कको रूप लिएको बताउनुभयो। सहकारीको व्यवस्थापक को छन् भन्ने सदस्यलाई थाहा नभएको र विश्वास कै भरमा बचत गर्दा कतिपय सहकारीका सदस्य माथि विश्वास घात भएको बताउनुभयो। देशैभर रहेका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। 

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागिता बिना देशको आर्थिक तथा सामाजिक हुन नसक्ने बताउनुभयो। फरक प्रसङ्गमा उहाँले अर्थतन्त्रका विषयमा विभिन्न प्रचार भइरहे पनि बिस्तारै अर्थतन्त्र लयमा फर्किएको र  पुँजीको अभाव नभएको बताउनुभयो। 


मन्त्री महतले रजत जयन्तीको अवसरमा स्तम्भ अनावरण तथा स्मारिका विमोचन गर्नुभएको थियो। रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको सहकारीले रामपुर–५ बेझाँड बजार, रामपुर–९ को जब्गादी, रामपुर–१० को रामटार, निस्दी–५ को ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दीपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो। सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको छ।