• १५ मंसिर २०८१, शनिबार

पात्लेखेतका सबै घरमा खानेपानी

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २० गते । कास्कीको अन्नपूर्ण गाउँपालिका-७ को पात्लेखेतका सबै घरमा खानेपानी पुगेको छ । ७० लाख ९१ हजार २ सय ३९ रुपियाँ लागतमा पात्लेखेत खानेपानी तथा सरसफाइ योजनाको निर्माण भएपछि सबैको घरमा धारा जडान भएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा सञ्चालित यो योजना पालिका अध्यक्ष विष्णुबहादुर केसी लगायतले उद्घाटन गर्नुभएको छ । खानेपानी योजनामा युनिका फाउन्डेसन दी नेदरल्यान्डको ४८ लाख ६९ हजार ५ सय ११, अन्नपूर्ण गाउँपालिकाको सात लाख २५ हजार ४ सय २२ र स्थानीय समुदायको १३ लाख ५२ हजार ४ सय २२ रुपियाँ लागत साझेदारी छ ।

खानेपानी तथा सरसफाइ योजनाका लागि रेडक्रस कास्कीले एक लाख ४४ हजार बराबरको सहयोग गरेको छ । स्थानीय कुर्लुङ खोलाबाट ल्याएको खानेपानी योजनाको एक घर, एक धारा कार्यक्रम अन्तर्गत तीन ट्याङ्की निर्माण गरिएको छ । यो आयोजनाबाट २ सय ३५ जना लाभान्वित भएका छन् । 

यस्तै, खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा खानेपानी योजनाको लागि जग्गा दान गर्ने मैतप्रसाद गुरुङ, देशप्रसाद गुरुङ र माया गुरुङलाई सम्मान गरिएको छ ।