अविनाश चौधरी
धनगढी, पुस २० गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
प्रदेशकै जेठो यो थारु होमस्टे विविध कारणले फष्टाउन सकिरहेको छैन । त्यसकारण होमस्टेको प्रचारप्रसार तथा प्रवर्धन गर्न र थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको थारु होमस्टे गाउँभन्दा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
योभन्दा पछि सञ्चालन भएका बर्दियाको डल्ला, नवलपुरको अमलटारी थारु होमस्टेले तुलनात्मक रूपमा फड्को मारे पनि सन् २०११ बाट सञ्चालनमा आएको थारु होमस्टे गाउँ भादा अझै पाहुना अभाव समस्या झेलिरहेको छ ।
महोत्सवको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले यस्ता महोत्सव सञ्चालनबाट कला, संस्कृति संरक्षण र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । होमस्टेको विकास गर्न सकेमा पर्यटक आगमन बढ्न सक्ने उहाँको भनाइ छ ।
महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रूपमा रहेको छ । यसैगरी, महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय थारु कलाकारबाट कार्यक्रम प्रस्तुति भइरहेको आयोजकले जनाएको छ ।
महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । होमस्टेमा चहलपहल बढाउन समितिले हरेक वर्ष होमस्टे महोत्सव आयोजना गर्दैआएको छ । पुस २२ गतेसम्म महोत्सव सञ्चालन हुने अध्यक्ष चौधरीले बताउनुभयो ।