• २६ वैशाख २०८१, बुधबार

स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔँ : मन्त्री गुरुङ

blog

भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै शहरी विकासमन्त्री सीता गुरुङ । तस्बिर: गोरखापत्र

काठमाडौं, पुस २० गते । सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्ने बताउनुभएको हो । उहाँले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरूको उत्पादन बढिरहेको र नेपालमै काष्ठसम्बन्धी उद्योगहरू बढाउनुपर्ने बताउनु भयो ।

काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरूलाई सहुलियत दिइरहेको पनि बताउनु भयो । उहाँले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरूको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताउनु भयो ।

‘‘हामीले चाहने हो भने असम्भव केही छैन भन्नेकुरा यहाँबाट प्रमाणित हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन, तयारी गर्न सकिन्छ भन्नेकुरा देखिन्छ । इण्डस्ट्रीहरु नेपालमा पनि खडा गर्नुपर्छ भन्नेकुराको राज्यले गर्नुपर्ने सहयोग गरिरहेको छ । तर पनि प्रभावकारी भने भइसकेको अवस्था होइन । आगामी दिनको लागि यस्ता इण्डस्ट्रीहरुलाई केही सहुलियत, सुविधा दिनुपर्छ भने पनि पहिलो चरणमा दिनुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘पूर्वाधार विकासको काममा स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्छ । निर्णय पनि गरेका छौँ । तर अहिले नै प्रचारमा पनि र सूचनामा पनि नजिक पुग्न सकिएको छैन । नेपालमै उत्पादन भएको वस्तुको विश्वसनीयतामा आम मानिसमा पुर्‍याउन सकेका छैनौँ । अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले यहाँका उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन सकेको छैन । भवन निर्माण गर्दा सकेसम्म नेपालमै उत्पादित वस्तु सामग्रीहरूको प्रयोग गर्नुपर्ने नीति बनाएका छौँ ।’’

मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताउनु भयो । मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।