ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २० गते । कालिगण्डकी नदी कटानको उच्च जोखिममा परेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित पर्वत बेनी बजार संरक्षण योजना सुरु भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वत बेनी बजारलाई कालिगण्डकी नदी कटानबाट जोगाउन तीन करोड पचास लाख रुपियाँ बराबरको संरक्षण योजना सुरु गरिएको हो ।
उक्त योजनाअन्तर्गत पर्वत बेनीस्थित आमा समूहको भवनदेखि खेलमैदानसम्म करिब ८४ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिने जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले जनाएको छ ।
योजना कार्यान्वयनका लागि गत आर्थिक वर्षको असारमा डाभा कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता भए पनि नदीमा पानीको सतह घटेपछि पुस महिनाबाट काम थालिएको परियोजना पोखराका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो ।
काम गर्न सहज होस भनेर नदीलाई बेनी बजारतीरको किनारमा फर्काएर डोजरको सहायताले पर्खाल निर्माणका लागि जग खन्ने काम थालिएको निर्माण कम्पनी डाभा कन्स्ट्रक्सन काठमाडौँका प्रतिनिधि शिव जिसीले बताउनुभयो ।
आगामी असार मसान्तसम्म योजना निर्माण सक्ने सम्झौता छ उहाँले भन्नुभयो, ‘‘नदी कटानको उच्च जोखिममा रहेकाले नदीमा पानीको सतह नबढ्दै योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरेका छौँ ।’’
नदी कटानको उच्च जोखिम क्षेत्रमा योजना सञ्चालित भएकाले सकभर ठेक्का सम्झौता मिति अगावै निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न निर्देशन गरिएको परियोजना पोखराका इन्जिनियर विकले बताउनुभयो । योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका तर्फबाट अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।