• ११ पुस २०८१, बिहिबार

अर्थहीन हुँदै एन्टिबायोटिक

blog

कतिपय रोगमा रामवाण औषधिहरू यति चाँडै आफैँमा सङ्कट बन्लान्, कसले सोचेको थियो होला ? आममानिसले यस सङ्कटलाई सकभर बुझेका छैनन् र जतिले बुझेका छन् उनीहरू यसमा गम्भीर नहोलान् तर सचेत हुने बेला भइसक्यो, यसै हो भने सामान्य सङ्क्रमण हुँदा पनि ज्यान जाने दिन आउन थालेको छ । जीवनरक्षक प्रभावकारी औषधिले नै रोगाणु बलिया हुँदै छन् र मानव स्वास्थ्यमा कडा चुनौती बनिरहेका रोग त छँदै थिए अब रोगविरुद्ध लडाइँको मोर्चामा औषधिको प्रतिकर्म एक ठूलो समस्या भएको छ । प्रतिकर्म यस अर्थमा कि औषधिले रोगाणुलाई सबल हुन सघाइरहेका छन् । जसको पूर्ण जिम्मेवार अरू कोही नभएर हामी नै हौँ । औषधि (विशेषगरी एन्टिबायोटिक) प्रयोगमा हाम्रो लापरबाही, अज्ञान, नियमनको कमी र गैरजिम्मेवारी नै हो ।

कुरा एन्टिबायोटिकको मात्र होइन अन्य खालका औषधि पनि छन् जसबाट विभिन्न रोगाणुलाई अवेद्य बन्न थालेको देखिन्छ । एन्टिबायोटिक त ब्याक्टेरियाका लागि भयो ढुसी (फङ्गस), परजीवी (परासाइट) र भाइरससमेत औषधिकै कारणले बलिया हुँदै गएका छन् । यसर्थ विश्वले अहिले आधुनिक औषधिको प्रभावकारिता रक्षार्थ समग्र उपागमलाई अपनाएको छ र एन्टिमाइक्रोबिअल रेजिस्टेन्टविरुद्धको  अभियानलाई जोडतोडका साथ अगाडि बढाइएको छ । यसै अन्तर्गत पर्छ एन्टिबायोटिक रेजिस्टेन्ट, जो वर्तमानमा मुख्य समस्या भएको छ ।

लगभग एक दशक पहिले एन्टिबायोटिक रेजिस्टेन्ट अर्थात् प्रतिजैविक प्रतिरोध प्रसङ्गमा लेखन गर्दा बेलायतको हाउस अफ कमन्स अन्तर्गतको विज्ञान तथा प्रविधि कमिटीमा डेम सेली डेभिसले भनेको सन्दर्भ उल्लेख गरेको थिएँ, आगामी २० वर्षभित्र सामान्य शल्यक्रिया गराएका बिरामीको पनि ज्यान जान सक्ने छ किनभने परिआउने सङ्क्रमणमा प्रभावकारी हुने कुनै एन्टिबायोटिक नै बाँकी रहने छैन । डेभिसका कुरा धरातलमा आउन थालेको छ, अहिले विश्व एन्टिबायोटिक प्रतिरोधको अवस्थामा पुग्न थालेको डरलाग्दो अवस्था हामीसामु छ ।

विश्व स्वास्थ्य सङ्गठनले ब्याक्टेरियामा औषधि प्रतिरोध क्षमता विकास हुने समस्यालाई भूगोलमा सीमित नगरेर विश्वको साझा समस्याका रूपमा व्याख्या गरेको छ । यसैकारणले विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मै एन्टिबायोटिकको विवेकशील प्रयोगमा जोड दिनुपर्ने बताएको थियो र सन् २०११ लाई एन्टिबायोटिक सचेतना वर्ष घोषणासमेत गरियो ।

सन् २०१२ मा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले एन्टिबायोटिक प्रतिरोधको अवस्था जटिल बन्दै गएकाले एन्टिबायोटिकको प्रयोगमा होसियारी आवश्यक रहेको बताएको थियो । विश्व परिवेशमा कुरा गर्दा हाल एन्टिमाइक्रोबियल रेजिस्टेन्ट (एएमआर) प्रमुख जनस्वास्थ्य समस्या तथा विकासको बाधक देखिएको छ । हाम्रै कारणले रोग पुनः बेकाबु भएमा त्यसको उपचारको प्रश्न मात्र उठ्दैन समाजमा त्यसले गहिरो असरसमेत पार्ने छ । गरिबी, कुपोषणबाट पीडित विश्वका लाखौँ मान्छे यसबाट थप समस्यामा पर्ने छन् । उपचार स्वतः पुनः महँगो हुने छ र पहिले गरिबले नै पिल्सनु पर्ने छ । उदाहरणका लागि एक्सडिआर–टिबीको उपचार सामान्य क्षयरोगको दाँजोमा धेरै खर्चिलो भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई हेर्दा सन् २०१९ मा १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर सोझै जिम्मेवार थियो भने ४९ लाख ५० हजार मानिसको मृत्युमा कहीँ न कहीँ यसको भूमिका देखियो । वैज्ञानिकको अनुमान छ एन्टिबायोटिक रेजिस्टेन्टले गर्दा सन् २०५० सम्म प्रतिवर्ष एक करोड मानिसले ज्यान गुमाउने छन् । अनुमान गरिएको छ, एन्टिमाइक्रोबियल प्रतिरोधका कारणले प्रतिवर्ष विश्वमा सात लाख मानिसको मृत्यु भइरहेको छ ।

आममानिसले एएमआरलाई स्वास्थ्य क्षेत्रको चुनौतीका रूपमा मात्र बुझ्न सक्छन् तर यसले उत्पन्न गर्ने चुनौती व्यापक छ । सन् २०३० सम्म यस समस्याका कारण जनस्वास्थ्य क्षेत्रमा एक खर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक व्ययभार बढ्ने छ तथा त्यतिबेलासम्म यो समस्याले दुई करोड ४० लाख मानिस अत्यन्त गरिबीमा पर्ने छन् । यसै कारणले हुन सक्छ विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्टलाई विश्वको १० प्रमुख स्वास्थ्य जोखिममा सूचीकृत गरेको छ ।

एन्टिमाइक्रोबियल र एन्टिबायोटिक

एन्टिमाइक्रोबियलको दायरा फराकिलो छ । यस अन्तर्गत ब्याक्टेरियाविरुद्धका एन्टिबायोटिक, ढुसीविरुद्धका एन्टिफङ्गस, भाइरसविरुद्धका एन्टिभाइरल र परजीवीविरुद्धका एन्टिपरासाइटहरू पर्दछन् । यी सबै औषधिविरुद्ध सम्बन्धित रोगाणुमा विकसित भइरहेको प्रतिरोध क्षमतालाई समग्रमा एन्टिमाइक्रोबियल रेजिस्टेन्ट भनिएको छ । धुलिखेल अस्पतालका इन्टरनल मेडिसिनका चिकित्सक डा. प्रकाश सापकोटाको भनाइमा जेनेटिक परिवर्तनका कारणले समेत प्राकृतिक तवरमै एक समय एन्टिमाइक्रोबियल रेजिस्टेन्ट उत्पन्न हुन सक्छ ।

जबकि ब्याक्टेरियामा एन्टिबायोटिकविरुद्ध विकसित भइरहेको वा भएको प्रतिरोध शक्तिलाई एन्टिबायोटिक रेजिस्टेन्ट भनिन्छ । हालको ठूलो चुनौती भनेको एन्टिबायोटिक रेजिस्टेन्ट नै हो तर अन्य खालका रोगाणुमा समेत औषधि प्रतिरोध गर्ने क्षमता विकास भइरहेकाले एन्टिबायोटिकमा मात्र केन्द्रित नभएर सबैलाई समेट्ने गरी एन्टिमाइक्रोबियल उपगम विश्वले अपनाएको छ ।

सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पेन्सिलिनको खोज गरेदेखि विश्व एन्टिबायोटिकसँग परिचित भएको ९५ वर्ष भएको छ तर सय वर्ष नपुग्दै ब्याक्टेरियाहरू एन्टिबायोटिक प्रतिरोधी हुन थालेका छन् । ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध क्षमता पूर्ण रूपमा विकसित हुँदै गएका कारण विश्वले नचिताएको स्वास्थ्य समस्या बेहोर्नुपर्ने दिन आइसकेको छ भन्न सकिन्छ ।

एन्टिबायोटिकविरुद्ध ब्याक्टेरियाले टाउको उठाउन धेरै समय चाहिँ लगाएको थिएन । सन् १९४० को दशकमै शरीरभरि खटिरा उत्पन्न गर्ने सङ्क्रमणमा पेन्सिलिनले असर देखाएन । ब्याक्टेरियामा औषधि प्रतिरोध क्षमता विकास भएको त्यो पहिलो ज्ञात घटना थियो । एन्टिबायोटिकको व्यापक र जथाभावी प्रयोगले गर्दा कैयौँ ब्याक्टेरियामा अहिले प्रतिरोध क्षमता विकसित भएको पाइन्छ । जसमा नितान्त नौलो प्रकृतिको रोग सुपरवगको नाम जोडिएको छ । क्षयरोगको कतिपय अवस्थामा एन्टिबायोटिकले काम गर्न छाडेको दृष्टान्त हामीसामु छन् ।

एक प्रकारले उपचारात्मक औषधिको जथाभावी प्रयोग र व्यवस्थापनको कमजोरीका कारणले नै तिनीहरू रोगाणुका लागि शक्तिवर्धक बन्न थालेका हुन् । एन्टिबायोटिकको विकासलाई औषधि विज्ञानमा क्रान्तिका रूपमा लिइन्छ । यसबिना आधुनिक चिकित्सा क्षेत्रले कुनै पनि शल्यक्रिया सम्भव देखेको छैन । सानोतिनो खटिराको पनि शल्यक्रिया गर्दा एन्टिबायोटिक अनिवार्य हुन जान्छ तर यही चमत्कारी औषधि हाम्रो गल्ती र अवस्थाले हामीलाई अभिशाप बन्न थालेको छ ।

एन्बिायोटिक्सविरुद्ध ब्याक्टेरियामा प्रतिरोध क्षमता विकासमा तिनको जथाभावी र गैरजिम्मेवार प्रयोग नै मुख्य कारक हो । कुनै पनि भाइरल बिरामी (भाइरसले हुने समस्या) मा एन्टिबायोटिकले काम गर्दैन तर रुघाखोकी लागेमा समेत एन्टिबायोटिक खाने मान्छे र सिफारिस गर्ने चिकित्सक देखिन्छन् । निमोनिया हुन सक्छ भनेर बिनारगत जाँच त्यसरी हचुवाका भरमा एन्टिबायोटिक सिफारिस गरिन्छ । बुझ्नुपर्ने कुरा के हो भने भाइरसमा एन्टिबायोटिक निष्प्रभावी हुन्छ र उल्टै त्यसले ब्याक्टेरियामा औषधिविरुद्ध लड्ने क्षमता वृद्धि गराउँछ ।

हाम्रो लापरबाही

हामीले औषधिको प्रयोगमा गरिरहेको हेल्चेक्रेयाइँ नै एन्टिमाइक्रोबियल रेजिस्टेन्ट, विशेषगरी एन्टिबायोटिक रेजिस्टेन्टमा मुख्य दोषी छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्रिटिकल केयर मेडिसिनका उप–प्राध्यापक चिकित्सक डा. हेमराज पनेरूको अनुभवमा एन्टिबायोटिक रेजिस्टेन्ट नै मुख्य समस्या बनिरहेको छ । जसमा प्रमुख रूपमा जिम्मेवार छ पोल्ट्री र पशुधन उद्योग ।

बिरामीलाई सिफारिस गरिएको जति मात्रामा एन्टिबायोटिक नखाइदिएर पनि समस्या उत्पन्न भएको छ । सरसर्ती हेर्दा एन्टिबायोटिक रेजिस्टेन्ट उत्पन्न हुनुमा पोल्ट्री र पशुधन उद्योगबाहेक उपचारात्मक सेवामा संलग्न तीन पक्ष बिरामी, चिकित्सक र औषधि विक्रेताको भूमिका देखिन्छ ।

चिकित्सकले सिफारिस गरेको मात्रामा बिरामीले एन्टिबायोटिक नखाइदिने अर्थात् पाँच दिन वा सात दिनका लागि दिनको तीन वा दुई पटक खान सिफारिस गरेको औषधि समयमा नखाने, निको भयो भनेर बाँकी औषधि खानै छाडिदिने लापरबाही गर्दा एन्टिबायोटिकले पछि काम गर्न छाड्छ । यति मात्र होइन औषधि विक्रेताले समेत चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बेच्ने गरेका छन्, यसरी नबेच्ने अपवाद मात्र होलान् ।

डा. सापकोटाको सुझाव छ, बिरामीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक खानु हुँदैन र एन्टिबायोटिक खान सुरु गरे पूरै खुराक खानु जरुरी छ ।


एन्टिबायोटिक रेजिस्टेन्टका कारण सामान्य सङ्क्रमण हुँदासमेत उपचार सम्भव नभएर ज्यान जान सक्छ । “नेपालमा एन्टिबायोटिक रेजिस्टेन्टका कारणले फाटफुट बिरामीको मृत्यु भएको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी जानकारी दिनुहुन्छ ।

उनको भनाइ छ, “औषधि विक्रेताले समेत विशेष अवस्थाका लागि जगेडा राखिएका एन्टिबायोटिक मनलाग्दी बेचिदिँदा उपचारमा थप जटिलता उत्पन्न भएको छ ।”

सुपरबग

भारतमा विकसित भएकाले सुपर बग अर्थात् जिनको नाम न्यु दिल्ली मेटालो–विटा–ल्याक्टामेज–१ (एनडिएम–१) राखियो । यस जिनले ब्याक्टेरियालाई  एन्टिबायोटिकविरुद्ध दुर्भेद्य बनाउँछ । यसको अर्थ हाम्रो वरिपरि जे जति ब्याक्टेरिया छन् ती सबमा यस एनडिएमले एन्टिबायोटिकविरुद्ध प्रतिरोध क्षमता विकसित गराउन सक्छ ।

त्यसो भएमा हामीलाई ब्याक्टेरियाका कारण रोग लागेमा एन्टिबायोटिकले काम गर्ने छैन । यस्तो भएमा भोग्नुपर्ने नतिजा कतिको भयावह होला, कल्पना गर्न सक्छौँ । अहिले यो घातक जिन विश्वभरिका ब्याक्टेरियामा सरिरहेको वैज्ञानिकले चेतावनी दिएका छन् ।

विशेषगरी आन्द्रामा सङ्क्रमण गर्ने ब्याक्टेरिया एनडिएमबाट प्रभावित भइरहेका छन् । सन् २०१० अगस्तमा भारतको नयाँ दिल्लीमा सुपरबगको खोजले सनसनी मच्चाएको थियो । एन्टिबायोटिक प्रतिरोधी रोग सुपरबगले युरोपमा पुगेर एक जनाको ज्यान पनि लियो । दी लान्सेट पत्रिकाले एनडिएम १ को बारेमा सर्वप्रथम उल्लेख गरेको थियो ।

एक स्वास्थ्य

मानव, घरपालुवा र जङ्गली पशुको स्वास्थ्यबीचको सम्बन्ध स्पष्ट पार्नु तथा पारिस्थितिक प्रणालीमा आउने परिवर्तनले मानवका लागि खाद्य आपूर्ति र अर्थतन्त्रमा पार्ने प्रभावबाट निर्देशित हुन सक्ने समग्र स्वास्थ्य सेवाको पहिचान हुनु आवश्यक देखिन्छ ।

एक स्वास्थ्य मानकले समग्र स्वास्थ्यको परिकल्पना गरेको छ । जसमा जल र जमिन, सबै जीवजन्तुबीचको सन्तुलनलाई स्वास्थ्यका दृष्टिले हेरिएको छ । समाजको कुनै पनि वर्ग वा क्षेत्रसँग आजको विश्वव्यापी यस संसारमा अकस्मात् उत्पन्न हुने वा पुनः सिर्जना हुने रोगको निवारणका लागि पर्याप्त ज्ञान र स्रोतको अभाव रहेको स्पष्ट छ ।

आधुनिक चिकित्साको युगमा केही दशकयता उत्पत्ति भएका वा दोहोरिएका रोगले गर्दा पहिले जति मान्छेको मृत्यु त भएन तर हाम्रो समाजमा रोगाणु विद्यमान रहेकाले कुनै पनि बेला नयाँ नस्लको रोगले जनविनाशको स्थिति ल्याउन सक्ने खतरा छँदै छ । उदाहरणका लागि हालसालैको कोभिड–१९ तथा बेलाबेला देखिने सार्स, मर्स, स्वाइन फ्लु, इबोला आदिले उत्पन्न गरेको जोखिम ।

हाम्रो वरिपरिको पारिस्थितिक प्रणाली (इको सिस्टम) का सबै सदस्यलाई सम्बोधन गर्ने गरी समाजमा सक्रिय संस्था, व्यक्ति, विशेषज्ञ र अन्य जानिफकारले एकजुट भई कुनै पनि बेला आइलाग्ने गम्भीर स्वास्थ्य चुनौतीको सामना गर्न तयार रहनुपर्ने आवश्यकता हालैका घटनाले महसुस गराइसकेको छ । मान्छेलाई मात्र स्वस्थ राख्न सके भइहाल्यो भन्ने अवधारणाले काम चल्ने देखिँदैन । यसैले एक स्वास्थ्य अवधारणा बनाइएको छ । आजको खतरा र भोलिको समस्याको समाधान अब हिजोको प्रणालीबाट सम्भव हुने छैन ।

प्रत्येक वर्ष मानव स्वास्थ्यमा असर गर्ने कम्तीमा दुई नयाँ रोगाणु विकसित हुने गरेको पाइन्छ । जसमा ७५ प्रतिशत पशु जगत्बाट विकसित हुने गरेका छन् । एन्टिबायोटिक प्रतिरोधमा पनि पशुधनमा विभिन्न प्रयोजनका लागि अन्धाधुन्ध प्रयोग भइरहेको एन्टिबायोटिकको हिस्सा ठूलो छ ।

पशुधनमा एन्टिबायोटिक प्रयोग गरे मानिसलाई त्यसको असर पर्दैन ठान्नु सरासर गलत छ र यो प्रमाणित पनि भइसक्यो । कुखुरामा प्रयोग गरिएको एन्टिबायोटिक होस् वा गाईभैँसीमा प्रयोग गरिएको एन्टिबायोटिक ती मासु वा दूधका माध्यमबाट अनाहकमा हाम्रो शरीरमा पुग्छन् । मानिसमा मात्र होइन पशुधन र वनस्पतिमा समेत एन्टिबायोटिक रेजिस्टेन्टको समस्या विकराल बन्दै गएको छ ।

यसर्थ हामीले मानव जातिको स्वास्थ्यको चासो, चिन्ता र कोसिस मात्र गर्ने होइन पशुधन स्वास्थ्यको समेत उत्तिकै विचार गर्नु पर्दछ किनभने हामी पारिस्थितिक प्रणालीका अविच्छिन्न सदस्य हौँ । एक सदस्यमा आउने समस्या स्वतः कालान्तरमा अर्कोमा पर्दछ । एक स्वास्थ्यको अवधारणा यसैमा निहित छ ।

 यसैकारण विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म कृषि खेती, पोल्ट्री फार्म, पशुधनमा एन्टिमाइक्रोबियल औषधि र अन्य खालका रसायनको प्रयोग ५० प्रतिशतसम्म घटाउने योजनामा काम गरिरहेको छ ।


पशुधन र कृषिमा एन्टिमाइक्रोबियल

कृषि, पोल्ट्री र पशुधनको उत्पादन र उत्पादकत्व बढाउन जसरी एन्टिबायोटिकको प्रयोग भइरहेको छ ती सबै एन्टिबायोटिक माछा, मासु, दूध, तरकारी, पानीको माध्यमबाट मानिसको शरीरमा पुगिरहेका छन् ।

कुखुरा, बङ्गुर, गाईलाई रोगबाट बचाउन मात्र होइन कुखुराको मासु बढाउन र अन्य पशुधनलाई हृष्टपुष्ट बनाउनसमेत एन्टिमाइक्रोबियल बेरोकटोक प्रयोगमा छ । नेपालमै पनि कुखुरापालन केन्द्रमा प्रयोग गरिने औषधि, रसायन र एन्टिबायोटिकको लेखाजोखा छैन । चेतनाको अभाव र प्रतिस्पर्धाको होडमा जथाभावी औषधि र रसायन कुखुरा उद्योगमा प्रयोग हुने गरेको पाइन्छ ।

माछामासु वा दूध र तरकारी बेस्सरी पकाएर खाए पनि तिनमा भएको एन्टिबायोटिक कुनै न कुनै मात्रामा बाँकी नै रहन्छ । मानिसको शरीरमा अनावश्यक प्रवेश पाएका एन्टिबायोटिकले अन्ततः ब्याक्टेरियालाई सबल बनाउँछन् ।

विशेषगरी हाम्रो शरीरमा एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण दुई किसिमले हुन सक्छ । पहिलो बारम्बार कुनै किसिमले एन्टिबायोटिकबाट प्रभावित शरीरमा ब्याक्टेरियालाई क्षमतावान् बनाउने अनुकूल वातावरण हुनु । बिरामी हुँदा रगत जाँच (कल्चर) नगराई चिकित्सकको सिफारिसमा वा आफूखुसी पसलबाट किनेर एन्टिबायोटिक खाने मानिसको शरीरमा ब्याक्टेरियाका लागि यस्तो अनुकूलता बन्ने गर्छ । पर्याप्त मात्रामा एन्टिबायोटिक खुराक नखानुले समेत शरीरमा ब्याक्टेरियालाई शक्तिवर्धक बनाउने वातावरण तयार हुन्छ ।

दोस्रो हो बाह्य वातावरणमा अर्थात् शरीर बाहिर नै एन्टिबायोटिकविरुद्ध शक्ति आर्जन गरेका ब्याक्टेरियाले मानिसको शरीरमा प्रवेश पाउनु । विशेषगरी पोल्ट्री र पशुधनमा प्रयोग गरिएका एन्टिबायोटिकका माध्यमबाट शक्ति आर्जन गरेका ब्याक्टेरिया यस वर्गमा पर्छन् ।

सरसफाइको कमी, काँचो वा राम्रोसँग नपकाइएको माछामासु तथा दूध वा अन्य कारणले यस्ता ब्याक्टेरिया हाम्रो शरीरमा पुग्छन् । यस्तो अवस्थामा कहिल्यै एन्टिबायोटिक नखाएको मानिसको शरीरमा समेत एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण देखिन्छ । स्पष्ट भन्न सकिन्छ हामीले आफू मात्र सफासुग्घर भएर वा स्वस्थ रहने प्रयास गरेर मात्र अब पुग्नेवाला छैन, वातावरणका सबै पक्षको यथोचित स्वस्थता अनिवार्य भएको छ ।

एक अनुमान अनुसार एन्टिबायोटिकको ७० प्रतिशत प्रयोग कृषि  क्षेत्रमा भइरहेको छ र बाँकी ३० प्रतिशत मानिसले प्रयोग गरिरहेका छन् । विकसित देशले कृषि क्षेत्रमा एन्टिबायोटिकको प्रयोगमा कडा नियमन गर्न थालिसके । अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ कृषि क्षेत्रमा एन्टिबायोटिक प्रयोग निषेध गरिएको छ । चिकित्सकले समेत त्यत्तिकै एन्टिबायोटिक सिफारिस गर्न पाउँदैनन् र औषधि पसलले त सिफारिसबिना बेच्न पाउने कुरै भएन ।

नेपालको वस्तुस्थिति

नेपालमा औसत एन्टिबायोटिक सिफारिस दर २२ प्रतिशत रहेको जानकारी दिन्छन् डा. सापकोटा । जो विश्वको औसत दर १५ प्रतिशतभन्दा बढी छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, “३०–३५ प्रतिशत बिरामीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक खाने गरेको देखिएको छ ।”

एन्टिबायोटिक रेजिस्टेन्टमा चिकित्सकको दोष पनि कम्ती देखिँदैन । चिकित्सकले समेत कतिपय बिरामीलाई सतर्कताका लागि होस् वा अन्य कुनै कारणले होस् प्रयोगशाला परीक्षण (कल्चर) नगराई एन्टिबायोटिक खान सिफारिस गर्छन् । उदाहरणका लागि दन्त सेवामा दाँतको उपचार गराए ‘कल्चर’ बिना एन्टिबायोटिक खान सिफारिस गर्ने अभ्यास व्यापक छ । एउटा एन्टिबायोटिकले काम नगरेपछि बिनाजाँच अर्को एन्टिबायोटिक सिफारिस गरिहाल्ने अभ्यास पनि छ, चिकित्सा क्षेत्रमा यस्ता अभ्यास निर्मूल पार्नै पर्छ ।

नेपालको प्रयास

एन्टिबायोटिक प्रतिरोध व्यापक भएर विश्वको ध्यान आकर्षित भई विभिन्न मञ्चमा यस बारेमा पहल सुरु गरिन थालेको धेरै समय भएको छैन । यस समस्यामा जतिसक्दो चाँडो पहल गर्न भनेर नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीले सन् २०११ मा एन्टिमाइक्रोबियल रेजिस्टेन्ट बारेमा जयपुर घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सन् २०१५ मे मा ६८ औँ वल्र्ड हेल्थ एसेम्बलीले एन्टिमाइक्रोबियल रेजिस्टेन्टमा ‘ग्लोबल एक्सन प्लान’ अनुमोदन गरी आफ्ना सदस्य राष्ट्रलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्टप्रति आआफ्नो राष्ट्रिय योजना बनाई ‘ग्लोबल एक्सन प्लान’ लाई सन् २०१७ मे सम्म अगाडि बढाउन आह्वान गरेको थियो ।

त्यसपछि सन् २०१६ सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभामा एन्टिमाइक्रोबियल रेजिस्टेन्टसँग जुझ्न उच्चस्तरीय बैठकमा विश्वका नेताले प्रतिबद्धता जनाए ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्टको चुनौती नियन्त्रण गर्नका लागि आफूले गरेको प्रतिबद्धता पूरा गर्न नेपालले विभिन्न खाले कदम चालेको छ । यसै क्रममा २०७६ सालको राष्ट्रिय स्वास्थ्य नीतिमा एन्टिमाइक्रोबियल रेजिस्टेन्टलाई महत्वपूर्ण जनस्वास्थ्य समस्या मानेर प्राथमिकता दिइयो । नेपालले एक स्वास्थ्य अवधारणामा रहेर बहुपक्षीय समेटेर राष्ट्रिय कार्यनीति बनाएर एन्टिमाइक्रोबियल रेजिस्टेन्ट नियन्त्रणको काम गरिरहेको छ ।  

एक्जिमा हुन्छ

बाल्यावस्थाको सुरुका दिनमा एन्टिबायोटिक प्रयोग गरिएमा एक्जिमा उत्पन्न हुने खतरा ४० प्रतिशतले बढ्ने एक नयाँ अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको छ ।

ब्रिटिस जर्नल अफ डर्माटोलोजीमा दिइएको यस अनुसन्धानको विवरणमा भनिएको छ, एक्जिमा भएको बच्चालाई उसको जीवनको पहिलो वर्षमा उपचार गर्दा एन्टिबायोटिक प्रयोग गरिएको देखिएको छ ।

एन्टिबायोटिकको हरेक पटक थप प्रयोगले एक्जिमाको खतरा सात प्रतिशतले बढाउने अनुसन्धान टोलीले जनाएको छ । नवजात शिशुमा रोग प्रतिरोधी क्षमता विकास भई नसकेको अवस्थामा जे जति कारणले होस् बच्चालाई एन्टिबायोटिक खुवाइयो भने उसको शरीर ब्याक्टेरियाप्रति संवेदनशील बन्ने सम्भावना उच्च हुन्छ । 

आन्द्रामा क्यान्सर 

धेरै एन्टिबायोटिक खाने मानिसले गट जर्नलमा प्रकाशित एउटा अनुसन्धानको विवरणमा ध्यान दिनु जरुरी छ । बयस्कावस्थामा लामो समय एन्टिबायोटिक खाने गरेमा पछि गएर पेटको क्यान्सर हुने खतरा बढ्ने सो जर्नलमा उल्लेख गरिएको छ । व्यायामको कमी, फलफूल र तरकारी कम खानु, मोटोपना, अल्कोहल धेरै खानु आदि आन्द्राको क्यान्सरका मुख्य जोखिम पक्ष हुन् ।

यति मात्रा होइन एन्टिबायोटिक धेरै खाने मानिसमा आन्द्राकै रोगहरू इरिटेबल बाउल सिन्ड्रोम र सेलिक डिजिज तथा मोटोपना हुने तथ्य विगतमा गरिएका अनुसन्धानले औँल्याएका छन् ।

एन्टिबायोटिक धेरै खाने मानिसलाई दोस्रो प्रकारको मधुमेहको खतरा देखिएको छ । डेनमार्कको गेनटफ्टा अस्पतालका डा. क्रिस्टियन हेलुन्डबेक मिकेल्सनको नेतृत्वमा भएको यससम्बन्धी अनुसन्धानको जानकारी जर्नल अफ क्लिनिकल इन्डोक्रिनोलोजी एन्ड मेटाबोलिज्ममा दिइएको थियो ।

डा. मिकेल्सनको टोलीले एन्टिबायोटिक्सको प्रयोगबाट दोस्रो प्रकारको मधुमेह हुन्छ वा हुँदैन भन्ने पत्ता लगाउने जमर्को गरेको थियो ।