• १० मंसिर २०८१, सोमबार

नेपाली क्रिकेट सन् २०२४ भर व्यस्त रहने

blog

नेपाली क्रिकेटमा सन् २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै क्यानका पदाधिकारी । तस्बिर : विकास द्वारे

काठमाडौँ, पुस १९ गते । क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिता तथा कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनबिच क्यानले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा जनवरी १ देखि डिसेम्बर ३० तारिकसम्म व्यस्त गतिविधि समावेश गरिएको छ । 

क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियन क्रिकेट काउन्सिल (एसीसी) को क्यालेन्डरलाई पछ्याएर घरेलु क्रिकेटलाई समेत समावेश गरिएको बताउनुभयो । ‘‘क्यालेन्डरमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता तथा राष्ट्रिय प्रतियोगिता सञ्चालनलाई तालमेल हुने प्रयास गरिएको छ । कतिपय अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगिता र देशभित्र आयोजना हुने क्षेत्रीय स्तरका प्रतियोगिता आयोजनालाई खुला गरिएको छ,’’ पारसले भन्नुभयो । 

तालिका अनुसार नेपालले सन् २०२४ मा आइसिसी विश्वकप लिग–२, अन्तर्राष्ट्रिय टी–२० सिरिज र एक दिवसीय सिरिज खेल्नेछ । अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सिनियर पुरुष क्रिकेटसँगै महिला, उमेर समूहका यु–१९, यु–१६,  पहिलो श्रेणी जस्ता प्रतियोगिता समावेश गरिएको छ । 

क्यालेन्डरमा नेपालले फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । फेब्रुअरी २७ देखि मार्च ५ तारिखसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबिच त्रिवि मैदानमा त्रिदेशीय टी–२० सिरिज, मार्च १९ देखि अप्रिल ३० तारिखसम्म नेपालको ‘ए’ टिमले आयरल्यान्डसँग पाँच एक दिवसीय र तीन वटा टी–२० खेल खेल्नेछ ।

व्यस्त तालिकालाई मध्यनजर गरेर क्यानले छिट्टै नेपालको ‘ए’, टी–२० र एक दिवसीय छुट्टै टिम निर्माण गर्न लागेको म्यानेजर विनोद दासले जानकारी दिनुभयो । क्यानले विशषगरी अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कपलाई लक्षित गरी कार्यक्रम तय गरेको पनि जनाएको छ । 

क्यानले अन्तर्राष्ट्रिय विभिन्न ३३ कार्यक्रमसहित २८ वटा घरेलु प्रतियोगिता र कार्यक्रमलाई क्यालेन्डरमा समावेश गरेको छ । क्यानको महत्त्वाकाङ्क्षी घरेलु प्रतियोगितामा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मङ्सिरमा आयोजना गर्ने, क्षेत्रीय लिग र प्रतियोगिता, विभागीय सिरिज, प्रधानमन्त्री कप, इन्डो नेपाल टी–२० क्रिकेट, मेयर कप जस्ता प्रतियोगिताहरूलाई समावेश गरेको छ । 

क्यानले क्यालेन्डरमा समावेश गरेको कार्यक्रमलाई आइसिसी, नेपाल सरकार र प्रायोजकहरूको आर्थिक सहयोगले सम्पन्न गरिने पनि सचिव पारसले जानकारी दिनुभयो । सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिए क्यानले बिस्तारै टेस्ट टोलीलाई नेपालमा बोलाएर क्रिकेट खेल्ने वातावरण तय गर्ने पनि पारसले बताउनुभयो ।