• १३ साउन २०८१, आइतबार

निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न चिकित्सक सङ्घको माग

blog

काठमाडौं, पुस १९ गते । नेपाल चिकित्सक सङ्घले काठमाडौं मेडिकल कलेज (केएमसी) मा निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न माग गरेको छ ।

सङ्घले विज्ञप्ति निकाल्दैै केएमसी अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटनाको सत्यतथ्य छानबिन गर्दै निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्दै सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा जोडदार माग गरेको हो ।

केएमसीले यही पुस १२ गतेदेखि लागू हुने गरी आवासीय चिकित्सक डा. विशद दाहाललाई स्वास्थ्य शिविरमा काम नगरेकाे भन्दै डिसिप्लिनरी एक्सन लिएको भन्दै एक महिनाका लागि निलम्बन गरेको थियो ।

कलेज प्रशासनद्वारा एक महिनाका लागि गरिएको निलम्बनलाई फिर्ता गर्न काठमाडौं विश्वविद्यालयले कलेज प्रशासनलाई पत्र पठाए पनि डा. दाहाललाई कलेज प्रशासनले कलेजमा छिर्न रोक लगाएको घटनाप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

डा. दाहाललाई केएमसी परिसरभित्र छिर्न खोज्दा मूल गेटमा रहेका सुरक्षाकर्मीले रोकेपछि  कारबाही फिर्ता हुनुपर्ने माग राख्दै तीन दिनदेखि आवासीय चिकित्सकहरुले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिडेट अगाडिको मूल सडकमा धर्ना दिएका छन् ।

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुलाई शैक्षिक गतिविधि बाहेक पीडादायी रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको विपरीत रहेको सङ्घले उल्लेख गरेको छ ।

अनावश्यक स्वास्थ्य शिविरमा सामेल नहुने भनिएकोमा कलेज प्रशासनद्वारा कुनै पनि कारणको माग नगरी स्पष्टीकरणको अवसरसमेत नदिई निलम्बन गर्दै विज्ञप्ति जारी गर्नुप्रति सङ्घले आपत्ति जनाएको छ ।

काठमाडौं विश्वविद्यालयद्वारा कलेज प्रशासनसँग तीन दिनभित्र कलेजको रायका साथ साथै निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया, स्पष्टीकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन लगाएतका विषयमा प्रश्न उठाएको सङ्घले जनाएको छ ।