चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २७ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार ६० जना मोतिविन्दु भएका र १३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ । फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र विशेषज्ञ डा. विनिता थापा नेतृत्वको टोलीले विरामीहरुको आँखाको शल्यक्रिया गरेको उपसभापति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया गरिएकासमेत शिविरमा ५९१ जनाको आँखाको उपचार गरिएको छ ।
आँखा शिविरमार्फत शल्यक्रिया सेवा लिनेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेका छन् । नेत्र ज्योति सङ्घका जिल्ला सभापति राजकुमार गुरुङका अनुसार पहिलो दिन बिहीबार २२१ जनाले शिविरमार्फत सेवा प्राप्त गरेका थिए । दोस्रो दिन २२४ जना र अन्तिम दिन शनिबार १४६ जनाले आँखाको परीक्षण साथै उपचार गराएका सभापति गुरुङले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल बिर्तामोड झापा, सेवा फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो । यसअघि वैशाख २१ र २२ गते खाम्लुङका दोभान बजारमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।
दोभानमा सञ्चालित शिविरमा मोतिविन्दु भएकासमेत ५९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । उक्त सङ्ख्यामध्ये ४३ जनाको मोतियाबिन्दु र १६ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको डिचन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो ।