• ११ पुस २०८१, बिहिबार

समृद्धिको पहिलो आधार स्लेट ढुङ्गा

blog

बागलुङ जिल्लाको मध्यभागमा रहेको ताराखोला गाउँपालिका साबिकका अर्गल, अमरभूमि, हिल र तारा गाविसलाई समावेश गरेर बनाइएको हो । ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ । यो कृषि, पशुपालन र जलविद्युत्मा पनि राम्रो सम्भावना भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष धनबहादुर विश्वकर्मासँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : 

यहाँले नेतृत्व गरेपछि भएका काम के के हुन् ? 

गाउँपालिकाको विकास र समृद्धिका लागि योजना बनाएर अगाडि बढेका छौँ । पालिकाभित्र सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिका कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । निर्वाचनमा मैले एक वर्षसम्म कुनै पनि सेवासुविधा नलिने प्रतिबद्धता व्यक्त गरे अनुसार रकम गरिब तथा विपन्नलाई वितरण गरेको छु । रोजगारी सिर्जनाका लागि ताराखोला बहुउद्देश्यीय सहकारी स्थापना गरेर कृषि र पशुपालनमा काम थालेका छौँ । सहकारीमार्फत आलु, भाँगो, किवी सङ्कलन गरेर बिक्री वितरण थालेका छौँ । पालिकामा श्रम रोजगार बैङ्क स्थापना गरेर बेरोजगार युवालाई कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा लगाएका छौँ । अहिलेसम्म श्रम रोजगार बैङ्कमा ७७ जनालाई आबद्ध गराइसकेका छौँ । ढुङ्गा खानी सञ्चालन र गाँजा खेतीका लागि हामीले नेपाल सरकारसमक्ष प्रस्ताव पेस गरेका छौँ । 

ढुङ्गा खानीका रूपमा परिचित पालिकाले यसबाट लाभ लिएको छ ? 

ढुङ्गा खानी उद्योग सञ्चालनका लागि राम्रो सम्भावना भए पनि कानुनी अड्चनका कारण पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ भएको छ । गाउँपालिकाले कानुन बनाएर अहिलेसम्म पालिकाले १० वटा ढुङ्गा खानी उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छौँ । ढुङ्गा खानीलाई पूर्ण रूपमा सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने र पालिकाको आन्तरिक आम्दानी बढाउन पहल भइरहेको छ । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेका छौँ । ढुङ्गा उद्योगबाट पालिकाले गत आर्थिक वर्षमा मात्र २५ लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । पछिल्लो समय नेपालमा आयातित टायल र मार्बलको विकल्पमा ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारीसमेत सिर्जना भएको छ । मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाउन उद्योग कार्यालयमार्फत पालिकालाई विशेष आर्थिक क्षेत्र घोषणाका लागि प्रधानमन्त्रीसमक्ष प्रस्ताव पेस गरेका छौँ । सरकारबाट विशेष आर्थिक क्षेत्र घोषणा भएपछि यहाँको ढुङ्गालाई बान्डिङ गरेर नेपालभर पुर्‍याउने लक्ष्य छ । 

पालिकालाई समृद्ध बनाउने आधार तय गर्नुभएको छ ? 

कृषि उपजको निकासी कर, ढुङ्गा खानी पालिकाको आन्तरिक आम्दानीका मुख्य स्रोत हुन् । गत वर्ष पालिकाले ७४ लाख रुपियाँ आन्तरिक आम्दानी गरेको थियो । पालिकाभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा सेयर लगानी र पालिकाको अगुवाइमा जलविद्युत् आयोजना निर्माण गरी दीर्घकालीन आन्तरिक आयस्रोत बनाउने योजना छ । आर्थिक रूपमा समृद्ध बनाउने पहिलो आधार स्लेट ढुङ्गा खानी नै हो । खानीलाई पूर्ण रूपमा सञ्चालन गर्न सके यहाँको जनजीवनमा अपेक्षाकृत सुधार ल्याउन सकिन्छ । रोजगारी सिर्जना हुन्छ । 

दोस्रो आधार कृषि र पशुपालन हो । आलु खेतीका लागि यहाँको भूमि उर्वर छ । यहाँ अलैँची, भाँगो र किवी खेती पनि राम्रो हुन्छ । गत वर्ष १५ देखि २० लाख रुपियाँसम्मको अलैँची निर्यात भएको छ । अलैँची र किवी खेती विस्तारका लागि पालिकाले किसानलाई प्रोत्साहन गरेको छ । जलविद्युत् र पर्यटन पनि ताराखोला समृद्धिका आधार हुन् । यी क्षेत्र विकासका लागि सक्दो पहल गरेका छौँ । 

स्वास्थ्य र शिक्षाका क्षेत्रमा के कस्तो काम भएको छ ? 

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढानुपर्ने नियम लागु गरेका छौँ । सामुदायिक विद्यालयलाई बलियो बनाउन पालिकाभित्र रहेको एउटा निजी विद्यालयलाई सहमति कायम गरेर बन्द गराएका छौँ । हाललाई केही सामुदायिक विद्यालयमा बालकक्षाबाट अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छौँ । विद्यालयका प्रधानाध्यापकसँग २९ बुँदे सम्झौता गरेर मासिक प्रगति विवरण बुझाउनुपर्ने नियम बनाएका छौँ । व्यावहारिक शिक्षालाई जोड दिँदै पालिकाका छ वटा विद्यालयमा स्मार्ट टकिङ एजुकेसन प्रविधिबाट पठनपाठन सुरु गरेका छौँ । 

स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न महिनाको एक पटक घर घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम चलाएका छौँ । पालिकाको एम्बुलेन्सबाट जटिल रोग लागेका महिला तथा बालबालिका र ज्येष्ठ नागरिकलाई अस्पतालसम्म पुर्‍याउने सेवा दिएका छौँ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई एक पटकका लागि उपचार खर्चबापत २५ हजार रुपियाँ दिँदै आएका छौँ ।

कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा कसरी काम गर्दै हुनुहुन्छ ? 

अर्गानिक मल उत्पादनमा जोड दिएका छौँ । आलु खेतीलाई विस्तार गरेर ब्रान्डिङ गर्ने योजना छ । व्यावसायिक पशुपालकलाई एक लाख रुपियाँसम्म अनुदान दिएका छौँ । बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोत्साहन कार्यक्रम ल्याएका छौँ । कृषिलाई यान्त्रिकीकरणमा जोड दिइएको छ । पालिकाले मिनी टेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेसर मेसिन वितरण गर्दै आएको छ । दुई वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । गाईघाट झरना, सहिद पार्क, तीनचुले, घुम्ते, कालीलेक, ठुलो हिले, गुरिल्ला तालिम केन्द्र पर्यटकीय स्थलको प्रवर्धन गर्ने योजना छ । 

पूर्वाधार विकासमा पनि काम भएको छ ? 

पालिकाकै बजेटमा वडा नम्बर ४ को दलामचौरमा फलामको मोटरेबल पुल बनाउँदै छौँ । वडा नम्बर ५ मा एक करोड रुपियाँ लागतमा सडक ढलानको योजना अघि बढाएका छौँ । पालिकाभित्र कालोपत्र सडक थिएन । प्रदेश सरकारको योजनाबाट वडा नम्बर १ मा पाँच किलोमिटर सडक कालोपत्र गर्ने योजना सुरु गरेका छौँ । ग्रामीण कच्ची सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना यातायात सञ्चालन गरेका छौँ । वडा नम्बर १ को कार्यालय भवन निर्माण हुँदै छ । सङ्घ र प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानमा योजना माग गरेका छौँ ।

चुनौतीको सामना पनि गर्नुभएको होला नि ? 

मुख्य चुनौती भनेको बसाइँसराइ हो । भौगोलिक विकटताका कारण विकास निर्माण र सेवा प्रवाह महँगो छ । डिजिटल साक्षरता छैन । स्थानीय सरकार सञ्चालन गर्न कठिनाइ छ । कृषि उपजको बजारीकरणमा चुनौती छ । पालिकामा दक्ष कर्मचारीको कमी छ । कर्मचारी बस्न मान्दैनन् । नागरिकका आवश्यकता असीमित छन् ती सबै एकै पटक पूरा गर्न ठुलो चुनौती छ । आम्दानी न्यून छ ।