• १३ असार २०८१, बिहिबार

भूकम्पका दुई महिना अधिकांश पीडित पालमै

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस १९ गते । जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिए । 

भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छ । दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छ । स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छ ।   

जिल्ला प्रशासनका कार्यालयको तथ्याङ्क अनुसार हालसम्म सरकारी अनुदानबाट रुकुमपश्चिममा सात हजार ७९ वटा मात्र अस्थायी आवास निर्माण भएका छन् । अधिकांश पीडित त्रिपालकै साहरामा रहेका छन् । भूकम्पले चर्केकै घरमा कतिपय पीडित बस्न बाध्य छन् । आठबिसकोट नगरपालिका–१३ का रमेश मल्लले आफूसहित अधिकांश परिवार त्रिपालमै रहेको बताउनुभयो । उहाँका अनुसार त्रिपालले चिसो थेक्न नसकेको भन्दै केही पीडित चर्केको घरमै बस्न थालेका छन् । तीव्र रूपमा अस्थायी आवास निर्माण र पुनर्निर्माणको पर्खाइमा भूकम्पपीडित रहेका छन् । 

आठबिसकोट नगरपालिका–१४, छेपारे गाउँकी भूकम्पपीडित सरस्वती जैसीले त्रिपालमा बस्दा सबै परिवारमा स्वास्थ्य समस्या बढिरहेको छ । हिउँदको चिसोले त्रिपालबाट समेत शीत चुहिने भएकाले रुघाखोकी र आफूलाई दमको समस्या भइरहेको उहाँको भनाइ छ । सरकारले घर बनाइदिएमा आफूहरूलाई थप राहतको महसुस हुने उहाँको माग छ । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्कमा सात हजार ७९ अस्थायी आवास निर्माण भएको र नौ हजार ३४१ निर्माणको चरणमा रहेका छन् । अस्थायी आवास निर्माणका लागि सङ्घीय सरकारबाट जिल्लामा हालसम्म ८४ करोड बजेट प्राप्त भइसकेको छ । जिल्लाबाट ५९ करोड रुपियाँ पहिलो किस्ताबापत स्थानीय तहको कोषमा पठाइसकिएको छ । हालसम्म स्थानीय तहले ४९ करोड २९ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा पठाइसकेका छन् । यहाँ २५ हजारका दरले पहिलो किस्ता पाउने लाभग्राही १९ हजार ७१७ परिवार रहेका छन् । हालसम्म जिल्लामा करिब २७ हजार लाभग्राही पहिचान भइसकेका छन् । अझै निवेदन सङ्कलनको काम स्थानीय तहमा भइरहेको जनाइएको छ । करिब ३२ हजार लाभग्राही पुग्ने अनुमान रहेको छ ।