• १३ साउन २०८१, आइतबार

ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि कार्यदल गठन

blog

गण्डकी ग्रामीण सामुदायिक अस्पतालको अलपत्र भवन ।

राधाकृष्ण डुम्रे 

वालिङ, पुस १७ गते । स्याङ्जाको चापाकोट नगरपालिका-२ को गण्डकी ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि पहल सुरु भएको छ । लामो समयदेखि बन्द रहेको अस्पताल सञ्चालनका लागि पहल गर्न बसेको सर्वपक्षीय भेलाले सिताराम गैह्रैको संयोजकत्व नौ सदस्य कार्यदल गठन गरेको हो । 

कार्यदलको सदस्यहरूमा रेशमलाल पङ्गेनी, रामु बस्याल, पोषराज देवकोटा, विष्णु आचार्य, मणि खनाल, टुकराज पाठक, विनोद खनाल र मञ्जु बस्याल रहनुभएको छ । बन्द अवस्थामा रहेको ग्रामीण अस्पताल जति सक्दो छिटो सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको सेयरसदस्यहरुले बताएका छन् । 

अस्पताल समितिले नै चलाउने वा अरू कसैलाई सञ्चालन गर्न भाडामा दिनेबारे छलफल गर्ने संयोजक गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताललाई नै नगर अस्पताल बनाउने वा अर्को चापाकोट अस्पतालसँग गाभेर अगाडी बढ्ने विषयमा निष्कर्षमा पुगिने छ ।” कार्यदलले तयार गरेको प्रतिवेदन भेला समक्ष पेस गरिने संयोजक गैह्रेले बताउनुभयो । 

चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)ले अस्पतालको व्यवस्थापनका लागि छिटो निष्कर्षमा पुग्न सेयर सदस्यहरूलाई आग्रह गर्नुभएको छ । लामो समय बन्द रहँदा उपकरण सहित अन्य सामग्रीहरू बिग्रने उहाँको भनाइ छ । 

२०६६ मा स्थापना भएको अस्पताल एक वर्षदेखि बन्द छ । सरकारले करोडौँ रकम विनियोजन गरेर बनेका आधुनिक भवन, लाखौँ खर्च गरेर खरिद गरेका अत्याधुनिक प्रविधिका मेसिनहरू अस्पताल सञ्चालनमा नआएसँगै अलपत्र छन् । लाखौँ रकम पर्ने औषधि म्याद गुज्रिएर खेर गएको छ । अस्पतालमा ६३२ जनाको एक कित्तादेखि ५१ कित्तासम्म गरी १४८० सेयर छ । प्रति कित्ता ५ हजार ५०० का दरले १४८० कित्ताको ८१ लाख ४० हजार सेयर पुँजी छ । अस्पतालको ५ रोपनी १० आना आफ्नै जग्गामा पक्की र कच्ची गरी दुई वटा भवन बनेको छ ।

अस्पतालमा सङ्घीय सरकार तथा प्रदेश सरकारको झण्डै ८ करोडको लगानी छ ।