• २४ वैशाख २०८१, सोमबार

त्रिभुवन आर्मी क्लबले जित्यो भलिबलको उपाधि

blog

फाइनल खेलमा प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी र पुलिस क्लब । तस्बिर: गोरखापत्र

ठाकुरप्रसाद आचार्य

बागलुङ, पुस १७ गते । बागलुङको गलकोट नगरपालिकामा सञ्चालित बुकी कप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । 

रोचक प्रतिस्पर्धात्मक रूपमा सम्पन्न फाइनल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पहिलो, चौथो र पाँचाैँ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरमा ३ सेट आफ्नो पक्षमा पार्दै त्रिभुवन आर्मी क्लबले उपाधि जित्न सफल भएको हो । 

त्यस्तै नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई दोस्रो र तेस्रो सेटमा २५–२२ र २५–२१ को अन्तरमा पराजित गरे पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपविजेतामा चित्त बुझाउनु पर्यो । बुकी कप २०८० को उपाधि संगै त्रिभुवन आर्मी क्लबले नगद ५ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीय हुने नेपाल पुलिस क्लबले २ लाख ५० हजार  रुपियाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  

प्रतियोगितामा उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लवका मान बहादुर श्रेष्ठ, उत्कृष्ट टिम प्रशिक्षक त्रिभुवन आर्मी क्लबका जगत बहादुर सिंह, उत्कृष्ट सेटर नेपाल आर्मी क्लबका दुर्गा महतो, उत्कृष्ट स्पाईकर नेपाल पुलिस क्लबका पहल गद्राज, उत्कृष्ट ब्लकर नेपाल पुलिस क्लबका सफल बिक, उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबका रबिन नगरकोटी र उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबका ईश्वर थापा घोषित भए । 

उत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई १० हजार, उत्कृष्ट सेटरलाई ६ हजार, उत्कृष्ट स्पाईकरलाई ६ हजार, उत्कृष्ट ब्लकरलाई ६ हजार, उत्कृष्ट डिफेण्डरलाई ६ हजार, उत्कृष्ट सर्भरलाई ६ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार रुपियाँ प्रदान गरिएको आयोजकले जनाएका छन् ।