• १३ असोज २०८१, आइतबार

दलले जनतालाई निरासा बाँड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

blog

नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्विर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा निरासा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।  

दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उहाँले आशंका व्यक्त गर्नुभयो । त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । 

“केही चिज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्, गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैनजस्तो देखिएको छ” उहाँले भन्नुभयो ।  


प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्नेजस्ता र प्रमुख पार्टीका नेतालाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको उहाँले बताउनुभयो। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।

“त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन” उहाँले भन्नुभयो। आफुले उक्त घटनालाई गम्भीर रूपमा लिएर उच्चस्तरीय छानविन आयोग बनाएको बताउनुभयो। “मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो छोडेछन् भन्ने के भाष्य हो ?” उहाँले प्रश्न गर्नुभयो। प्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार हो ?  उहाँको प्रश्न छ । 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले वीपी कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताउनुभयो। जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू बीपी स्कुलिङबाट प्रभावित भएको उहाँको भनाइ छ । 

विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उहाँले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताउनुभयो। त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उहाँको भनाइ छ।  ‘‘राष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनु पर्दछ’’ प्रधानमन्त्रीले भन्नुभयो।


उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानवजातिले विकास गर्न सकेकै छैन ।  यो कुरालाई जनतासमक्ष लानुपर्थ्यो त्यो हामीले सकेनौं” उहाँले थप्नुभयो, “लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, विकास र समृद्धि दिन हामी सबै समकालिन नेताहरू लाग्नैपर्छ। मैले आजको यो कार्यक्रमलाई एउटा नयाँ एउटा प्रतिबद्धता, संकल्प लिने दिनको रूपमा लिन जरुरी ठानेको छु।”


अहिले पनि वीपीले भनेजस्तै राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो नेपाली राजनीतिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रयासमा लागेको उहाँले बताउनुभयो । त्यसको परिणामस्वरुप  ‘विग सिक्स’ मा सबै ठूला दलको प्रतिनिधित्व रहने वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ।

यो पनि पढ्नुहोस

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सभापति देउवा