• १३ असोज २०८१, आइतबार

म कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली

blog

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : कबिन अधिकरी

काठमाडौं, पुस १६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो ।


अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने इच्छा नभएको अध्यक्ष ओलीको जिकिर थियो । अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताउनुभयो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्नुहुँदै उहाँले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनी प्रश्नसमेत गर्नुभयो ।


‘‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।,’’  उहाँले भन्नुभयो, ‘‘विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाइस् ? कलकत्ता जान गङ्गाको बाटो किन भनिस्, ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् ? ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तरण गरिस् ? ठूला कुरा गर्ने । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो । त्यसको पनि म जवाफ दिन्नँ । म त्यतापट्टि पनि जान चाहन्नँ ।  म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ । यत्ति हो यो देशमा कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’’


अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताउनुभयो । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपरेको ? नगई नहुने त्यहाँ के पर्‍यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ?’’

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरुसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहोर्‍याउनुभयो ।