गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकालका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आज पत्रकार सम्मेलन गरी सो खतरा औल्याएको हो ।
अभियानका संयोजक पूर्णशोभा चित्रकारले शान्ति सम्झौता भएको सत्र वर्ष पूरा भए पनि द्वन्द्वले छाडेका अनेक समस्याहरु कायमै रहेकाले नागरिकहरु खतरामुक्त नरहेको उहाँले बताउनुभयो । बारुदी सुरुङ, द्वन्द्वको अवशेषको रुपमा रहेका विस्फोटक पदार्थबाट खतरा कायमै रहेको उहाँको भनाइ छ ।
विशेषगरी रोल्पा, हुम्ला, रुकुम, कालिकोट, लमजुङ, सुर्खेत, मुस्ताङ, रुपन्देही, दैलेख, सुर्खेत, बाँके, बैतडी, कैलाली, कञ्चनपुर, दाङ, सुनसरी, सप्तरी, झापा, ताप्लेजुङ, भक्तपुर, काठमाडौं लगायतका जिल्लामा यस्ता विस्फोटक पदार्थको अवशेषको खतरा रहेको संयोजक चित्रकारले बताउनुभयो ।
शान्ति प्रक्रियाको टुङ्गो लगाउने काम भइरहेका बेला द्वन्द्वका यस्ता अवशेषको पनि उचित व्यवस्थापनको खाँचो रहेको संयोजक चित्रकारको भनाइ छ । २०५२ देखि २०६२ दश वर्षमा सुरक्षाकर्मी र सर्वसाधारण गरी ५२९ को विस्फोटक पदार्थबाट व्यक्तिको ज्यान गएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, एक हजार २७३ घाइते भएको र त्यसमा ४८ प्रतिशत सर्वसाधारण रहेको सो संस्थाले जनाएको छ । २०६८ मा नेपाललाई माइन मुक्त घोषणा गरिए पनि ३० मंसिर २०८० सम्म नेपाल प्रहरी र सर्वसाधारण गरी २१ जनाको मृत्यु भएको र १०४ जना घाइते भएको संयोजक चित्रकारले बताउनुभयो ।
२०६८ देखि २०८० सम्म एक हजार ७१८ वटा विस्फोटक पदार्थ फेला परेको र सोमध्ये ३६ वटा विस्फोटक पदार्थलाई नष्ट गरिएको तथ्याङ्क रहेको अभियानले जनाएको छ । सोहीअनुसार २०७० मा ३८४, २०७४ मा ४७९ वटा र २०७९ मा २२८ विस्फोटक पदार्थ फेला पर्नुले यसबाट नागरिकलाई खतरा जारी रहेको पुष्टि गरेको संयोजक चित्रकारले बताउनुभयो ।