• १२ साउन २०८१, शनिबार

बालबालिकामा बढ्दै ‘स्क्रब टाइफस’

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, पुस १५ गते । बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा. रोमा बोहोराले दैनिक जस्तो ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका जानकारी दिनुभयो । उहाँले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताउनुभयो । 

डा. बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ  । 

उहाँका अनुसार माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घरवरिपरिको झाडी वा घु¥यान हुने ठाउँमा देखिने गर्छ । सबै उमेर समूहका व्यक्तिलाई यसले प्रभावित पार्ने गरेको जनाउँदै बालरोग विशेषज्ञ डा. बोहोराले समयमा उपचार नभए बिरामीको ज्यानसमेत जाने जोखिम हुने गरेको बताउनुभयो । यसै गरी अर्का बालरोग विशेषज्ञ डा. सकिल अहमदले पनि केही दिनयता ‘स्क्रब टाइफस’ बाट पीडित भएका बालबालिका उपचारका लागि आफ्नो क्लिनिकमा आउने क्रम बढेको बताउनुभयो । 

उहाँले बालबालिकालाई धेरै ज्वरो आएमा, आँखा रातो भएमा र झाडापखाला लागेमा तत्काल चिकित्सकलाई जँचाउनुपर्ने बताउनुभयो । खेतबारीमा काम गर्दा, वनजङ्गल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनुका साथै घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्नुपर्ने, खाट वा अग्लो ठाउँमा सुत्नुपर्ने सुझाव चिकित्सकले सर्वसाधारणलाई दिएका छन् । ‘स्क्रब टाइफस’ लागेको शङ्का लागेमा उपचारका लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने जनाउँदै औषधी सेवनपछि यो रोग निको हुने नेपालगन्जका अर्का बालरोग विशेषज्ञ डा. पीयूष कनोडियाले बताउनुभयो ।