• २८ वैशाख २०८२, आइतबार

प्रादेशिक अस्पतालको शय्या वृद्धि

blog

राममणि दाहाल

हेटौँडा, पुस १५ गते । बागमती प्रदेश सरकारले मातहतका अस्पतालमा शय्या सङ्ख्या तीन गुणाभन्दा बढीले वृद्धि गरेको छ । स्वास्थ्यमाथिको नागरिकको पहुँच वृद्धि गर्ने योजनासहित प्रादेशिक अस्पतालमा विगतको स्वीकृत शय्यामा तीन गुणाभन्दा बढीले थप गरिएको हो । प्रदेश मातहतका १३ वटा प्रादेशिक अस्पतालमा गरी यसअघि स्वीकृत शय्या सङ्ख्या ३८५ रहेकोमा वृद्धि गरी हाल स्वीकृत शय्या एक हजार २७५ पु¥याइएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालको स्तरोन्नति शय्याममा अस्पतालको शय्या थप गरिएको जानकारी दिनुभयो । 

प्रदेश सरकार मातहत अस्पतालको स्वीकृत शय्या सङ्ख्या ३८५ भए पनि ती प्रादेशिक अस्पतालले स्वीकृत शय्याभन्दा बढी क्याबिन, आइसियु, एचडियु, एनआइसियु र सामान्य शय्या गरी ८७९ वटा शय्याबाट नागरिकलाई सेवा प्रवाह गर्दै आएका थिए । प्रादेशिक अस्पतालको सेवा विस्तार र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको नीति अनुसार भदौ १ गतेबाट प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरिएको थियो । १३ वटा प्रादेशिक अस्पतालका गरी ८११ वटा सामान्य शय्या निःशुल्क रूपमा नागरिकलाई उपलब्ध गराइँदै आएको छ । प्रादेशिक अस्पतालमा विशिष्टिकृत शय्या सङ्ख्या अर्थात् क्याबिन, आइसियु र एनआइसियु शय्या सङ्ख्या ६८ वटा रहेका छन् । प्रादेशिक अस्पतालमा आउने बिरामीको चापका आधारमा उपलब्ध शय्या अभाव भएपछि शय्या सङ्ख्या वृद्धि गर्नु परेको बताइन्छ । 

उहाँले प्रादेशिक अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्यमा नागरिकको पहुँच वृद्धिको क्रममा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत भइसकेको बताउनुभयो । उहाँले स्वास्थ्यका प्राविधिक जनशक्तिको स्थायी दरबन्दीमा प्रदेश लोक सेवा आयोगमार्फत माग गरेर पदपूर्तिका गर्ने निर्णयसहित अस्पतालमा शय्या थप गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सरकारको निर्णय अनुसार हेटौँडा अस्पताल र भक्तपुर अस्पतालको शय्या सङ्ख्या तीन तीन सय बनाइएको छ । यसअघि हेटौँडा अस्पतालको स्वीकृत शय्या सङ्ख्या ५० र भक्तपुर अस्पतालको स्वीकृत शय्या सङ्ख्या ७५ वटा मात्र रहेको थियो । प्रादेशिक अस्पताल स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय अनुसार धादिङ बेँसीस्थित धादिड अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, चितवनको बकुलर अस्पताल सय सय शय्याको बनाइने छ । यसअघि स्वीकृत शय्या धादिङ अस्पताल, त्रिशूली अस्पताल र सिन्धुली अस्पतालमा ५०–५० तथा बकुलर अस्पतालमा १५ रहेको मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५०–५० शय्याको बनाइने भएको छ । यसअघि सिन्धुपाल्चोक अस्पताल १५, रामेछाप अस्पताल १५, पशुपति चौलागाईं अस्पतालमा २५ र मेथिनकोट अस्पतालमा स्वीकृत शय्या सङ्ख्या पाँच रहेको थियो । उता रसुवा अस्पताल, ललितपुरको वज्रवाराही चापागाउँ अस्पताल र काठमाडौँको टोखा चण्डेश्वरी अस्पतालमा स्वीकृत शय्या सङ्ख्या वृद्धि गरी २५–२५ बनाउने निर्णय गरिएको छ । यसअघि रसुवा अस्पताल र वज्रवाराही चापागाउँ अस्पतालको स्वीकृत शøया १५–१५ तथा टोखा चण्डेश्वरी अस्पतालको स्वीकृत शय्या सङ्ख्या पाँच वटा रहेको थियो तर वज्रवाराही चापागाउँ अस्पताल र टोखा चण्डेश्वरी अस्पताल यसअघि नै २५–२५ शय्या  क्षमतामा सञ्चालन हुँदै आएको थियो । यी दुवै अस्पतालमा दरबन्दी वृद्धि गर्ने गरी सङ्गठन संरचना स्वीकृत भएको मन्त्री जोशीले बताउनुभयो ।